राजनीति

चुनाबको मिति सार्नु ब्यर्थ, राजपाको माग होला के पूरा !

काठमाण्डौ, २४ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) तेस्रो चरणको चुनाबमा पनि सहभागि हुनेबारे अन्योल कायमै छ । आफूले उठाएका माग पूरा नभएसम्म चुनावमा नजाने राजपाले आफ्नो अडान दोहोर्याउदै आएको छ ।

काठमाडौंमा मंगलबार सकिएको केन्द्रिय समितिको बैठकले पार्टीले उठाएका संविधान संशोधन, स्थानीय तहको संख्या थप लगायत माग सरकारले पूरा नगरेसम्म तेश्रो चरणको स्थानीय चुनावमा पनि भाग नलिने निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिएका छन् । बैठकमा केही नेताहरुले चुनावलाई उपयोग गर्दै सरकारसँगका माग यथावत राख्नुपर्ने माग गरे पनि बैठकमा माग पूरा नहुन्जेल चुनावमा जानु नहुनेमा अध्यक्ष मण्डलका सवै नेता एकमत रहेको नेता सुमनले बताए ।

तीन दिनसम्म चलेको बैठकमा ३० वटा समूह बनाएर विभिन्न विषयमा छलफल भएको थियो । बैठकले राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले पेश गरेको प्रस्ताव परिमार्जनसहित पारित गर्नका साथै पार्टीको विधान, घोषणापत्र लगायतबारे उठेका कुरा समावेश गर्न समिति बनाउने पनि निर्णय पनि भएको छ ।