समाचार

बिमस्टेक बैठकः ‘आज काठमाण्डौमा सात देशका विदेशमन्त्री जम्मा हुँदै’

काठमाण्डौ । काठमाण्डौमा बिहीबारदेखि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास(बिमस्टेक) को बैठक सुरु हुँदैछ । सो बैठकमा भाग लिन सात सदस्य राष्ट्रका विदेश सचिवहरु काठमाण्डौ आइपुगिसकेका छन् भने विदेशमन्त्रीहरु आउने क्रम जारी छ ।

बैठकमा भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री र उपविदेशमन्त्रीहरुको सहभागिता रहने जनाइएको छ । बैठकमा व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, उर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपति र जलवायु परिवर्तन लगायतका मुद्धाहरुमा गम्भीर बहस हुने जनाइएको छ ।

बैठकमा यसअघि भएको तेश्रो शिखर सम्मेलन र मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षा र पारस्पारिक सहयोगका विषयहरुलाई तीव्र गतिमा कार्यान्वयन गर्ने सम्बन्धमा बैठक केन्द्रीत हुने जनाइएको छ ।

बिमस्टेकका निर्णय कार्यान्वयन समीक्षाका लागि बिहीबार बिहानदेखि परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ । उक्त बैठक अपराहन सकिनेछ । मन्त्रीस्तरीय बैठक बिहीबार दिउँसो सुरु हुनेछ । बैठकको उद्घाटन बिमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।