समाचार

नेपालको आग्रहपछि भारतले खोलिदियो कोसीका ३५ र लक्ष्मपुर बाँधका ७ वटा ढोका !

काठमाण्डौ । नेपाल सरकारको आग्रहपछि भारतले कोशी व्यारेजका ५६ मध्ये ३५ वटा ढोका खोलिदिएको छ । अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेमा पानीको बहाब अझै उच्च हुने संकेत देखिएपछि ३५ वटा ढोका खोलिएको हो ।

नेपाल सरकारले शनिबारदेखि नै कोसी ब्यारेजका ५६ वटै ढोका तत्काल खोल्न भारत सरकारसमक्ष आग्रह गर्दै आएको थियो । कोसीको बहाब अझै उच्च भए ५६ वटै ढोका खोल्नुपर्ने हुन्छ ।

शनिबार परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माले भारतीय राजदूतमार्फत भारत सरकारलाई कोसी र राप्ती नदीसँग जोडिएको लक्ष्मणपुर बाँधका ढोका खोलिदिन आग्रह गरेका थिए ।

भारत सरकारले लक्ष्मणपुर बाँधका १४ वटा ढोकामध्ये ७ वटामात्र खोलिदिएको बताइएको छ । बाँधका सबै ढोका खोलिदिन सरकारले आइतबार पनि भारतसँग आग्रह गर्ने तयारी गरिरहेको छ ।

कोसी नदीका बाँधका ढोका खोल्न भारतसँग अनुमति लिएर मात्र सकिने सम्झौता रहेको छ । त्यसैले नेपाललाई समस्या देखिदै आएको छ ।