पु.समाचार

जल तथा मौसम विज्ञान विभागले फेरि दियो यस्तो चेतावनीपूर्ण संकेत !

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ। विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा केन्द्रित भएकाले खतरा बढेको हो।

निरन्तरको वर्षाका कारण पूर्वमा बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति पुर्यााएको छ। मनसुन पूर्वमा सोमबारदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, काठमाडौं उपत्यकामा वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। स्थानीय न्यून चापीय रेखा र बंगालको खाडीबाट भित्रिएको न्यून चापीय रेखा एकआपसमा मिसिँदा मनसुन अस्वाभाविक बनी निरन्तर भारी वर्षा भएको पौडेलले बताए।

उनका अनुसार मध्य र पश्चिम नेपालमा छुट्टै न्यून चापीय रेखा विस्तार हुँदा बंगालको खाडीबाट उच्च चापीय जलवाष्प निरन्तर भित्रिएकाले वर्षा नरोकिएको हो। निरन्तर वर्षा हुँदा मनसुन स्वाभाविक बनेको थियो। सातादेखि उच्च वर्षा हुँदा मुलुकका अधिकांश भूभाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ।

बंगालको खाडीबाट न्यून चापीय रेखा जलवाष्पमा परिणत हुँदा चार महिनासम्म यो प्रणाली सक्रिय हुने गर्छ। यसै समय मनसुन नेपाल भित्रिनाले वर्षा हुने विज्ञको भनाइ छ। मनसुन प्रणाली भोलिदेखि निष्क्रिय भए पनि जलवाष्प आकाशमा भएकाले दोस्रो मनसुन प्रणालीको विकास भएर वर्षा हुनेछ।

सामान्यतः जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला भएको थियो। असोज ७ गतेदेखि मनसुन नेपालबाट बाहिरिन्छ। मनसुनको मुख्य समय मानिने असार, साउन र भदौ महिनामा सामान्यदेखि भारी वर्षा हुने पौडेलले बताए।

आइतबार पूर्वमा कम वर्षा भयो भने चितवन, नवलपरासी, महेन्द्रनगर, दाङ, दिपायल, धनगढीमा मनसुन केन्द्रित भएको थियो। बाढीले विराटनगरमा मौसम जाँच स्टेसन बगाएको छ। आइतबार बिहान नारायण स्टेसनमा चार सय ८० मिलिमिटर वर्षा भयो। यो वर्षकै उच्च हो। अन्य क्षेत्रमा सरदर तीन सय मिलिलिटर वर्षा भएको थियो। एकै घन्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएकाले यो निकै दुर्लभ मौसमी गतिविधि भएको मौसमविद्को भनाइ छ। छोटो समयमा धेरै वर्षा हुनुमा जलवायु परिवर्तन मुख्य कारक भएको अध्ययनले पुष्टि गरिसकेको छ।

खतरा सतह पार
बबई नदीको चेपाङ क्षेत्र र भदा पुलमा पानीको सतहले खतराको सतह नाघेको छ। बबईको चेपाङ स्टेसनमा २४ घन्टामा तीन सय ६, रानीजमरामा दुई सय ६४, तुल्सीपुरमा दुई सय ३०, पदमपुरमा तीन सय ४०, अम्बापुरमा दुई सय ३६ मिलिमिटर पानी परेको छ।

पश्चिम राप्तीको लमहीमा दुई सय तीन, नारायणीको पूर्वी राप्ती रजइयामा तीन सय ७०, रितु खोला वनकठामा दुई सय ९३, गोविन्द बस्तीमा एक सय ४६ मिलिलिटर पानी परेको छ। २४ घन्टामा एक सय ४० मिलिलिटरभन्दा बढी पानी परे उच्च जोखिम मानिन्छ। महाशाखाले शनिबार र आइतबार नौ पटक एसएमएस गरी सतर्क रहन चेतावनी दिएको थियो।