बैंकिङ

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह

२८ जेठ, काठमाडौं । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (PAN) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले बिहीबार सूचना जारी गर्दै ग्राहकहरूको खाताबाट कट्टी गरिएको कर विवरणलाई “आयकर ऐन, २०५८” बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्न प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो।

बैंकका अनुसार ग्राहकहरूले बैंकको प्यान अपडेट पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मोबैंक’मा रहेको ‘PAN Update’ विकल्पमार्फत आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै देशभरका बैंक शाखाबाट समेत प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टीडीएस (E-TDS) रेकर्डमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको जनाएको छ। प्यान अद्यावधिक भएपछि करकट्टी विवरण सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा विवरण मिलान गर्ने बैंकको भनाइ छ।

यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ।

बैंकले प्यान अद्यावधिक नगराएका कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभएको वा पछि थप समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी बैंकले नलिने पनि स्पष्ट गरेको छ।

त्यसैगरी, ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरिएको छ। ग्राहकहरूले भिडियो केवाईसी सेवा वा मोबैंक एपको ‘My Profile’ अन्तर्गत रहेको ‘Change Email’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयमार्फत पनि इमेल अद्यावधिकको सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।

यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सेवा लिन बैंकले अनुरोध गरेको छ।