समाचार

पत्रकार महासंघको २५ औ महाधिवेशन, अध्यक्षमा ३ जनाको उमेद्वारी घोषणा

काठमाण्डौ, ३१ वैशाख । आगामी भदौ ४ देखि ६ गतेसम्म काठमाडौंमा हुने पत्रकार महासंघको महाधिवेशनका लागि अध्यक्षमा तिन जनाको उमेद्वारी परेको छ । अहिलेसम्म उम्मदेवारी घोषणा गर्नेहरुमा गोविन्द आचार्य, तीर्थ कोइराला र उजीर मगर छन् ।

यसपटक उमेद्वारी दिने क्रममा अघिल्लो पटक जस्तै नभइ गठबन्धन फेरिएको छ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रनिकट पत्रकारहरुले गठबन्धन बनाएका छन् । कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको तर्फबाट अध्यक्षमा गोविन्द आचार्यलाई अघि सारिएको छ ।

यस्तै महासंघको अध्यक्ष पदका लागि एमालेसम्वद्ध प्रेस चौतारी नेपालले बरिष्ठ पत्रकार तीर्थ कोइरालालाई अघि सारेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाको उम्मेदवारीलाई चौतारीले समर्थन जनाएको हो ।

त्यसैगरी अध्यक्ष पदका लागि अर्को उमेद्वारी वर्तमान महासचिव उजिर मगरको परेको छ । मगरको उम्मेदवारीलाई आदिवासी जनजाति पत्रकार महासंघ फोनिज लगायतका संस्थाले समर्थन जनाएका छन् ।
को–को, के–के हुन्

प्रेस सेन्टरका बरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष पनि हुन् । आचार्यले आफू विगतदेखि नै श्रमजिवी पत्रकारको हित र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएकाले त्यसको सम्बद्धर्नका लागि उम्मेदवार बनेको बताएका छन् ।

प्रेस चौतारीले समर्थन गरेका तिर्थ कोइराला अहिले थाहाखबरका प्रधान सम्पादक हुन् । कोइराला यसअघि कान्तिपुर टेलिभिजनका समाचार प्रमुख थिए । पत्रकार महासंघको राजनीतिमा भने कोइरालाको यो पहिलो आगमन हो । उनी मूलधारको पत्रकारितामा निरन्तर क्रियाशील छन् । कोइरालाले आफ्नो उम्मेदवारीले क्रियाशील श्रमजीवी र व्यवसायिक पत्रकारहरुको हितका लागि लड्न प्रेरित गर्ने बताएका छन् । कोइरालाले आफू कहिल्यै कुनै पार्टीको झण्डामुनि नरहेको भन्दै आफ्नो उम्मेदवारीलाई चौतारीले समर्थन जनाएको बताए ।

यस्तै उजिर मगरले आफ्नो उम्मेदवारी पत्रकार महासंघलाई राजनीतिक दलको बाहुबलीबाट मुक्त गर्ने र श्रमजीवी स्वतन्त्र पत्रकारको छाता संगठनका रुपमा विकास गर्नका लागि रहेको बताएका छन् । अहिले दलभन्दा माथि स्वतन्त्र उम्मदेवारी घोषणा गरे पनि यसअघि पत्रकार महासंघको महासचिव हुँदा मगरले माओवादीसम्वद्ध प्रेस सेन्टरको प्रतिनिधित्व गरेका थिए ।

विसं २००८ सालमा सत्यनारायण श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित पत्रकार महासंघमा विगत दुई कार्यकालमा प्रेस चौतारीले माओवादी सम्वद्ध पत्रकारको समर्थनमा अध्यक्ष जितेको थियो । यसपटक भने चौतारी र प्रेस सेन्टरको दुई कार्यकालको गठबन्धन टुटेको छ । आगामी भदौ ४ देखि ६ गतेसम्म काठमाण्डौमा हुन लागेको यो २५ औ महाधिवेशन हो ।