समाचार

प्रधानमन्त्री देउवा भारत जाने तयारी भैरहँदा किन कालापानीमा भारतीय सैनिकले गस्ती बढायो ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तयारी भैरहेको बेला भारतले त्रिदेशीय सीमामा रहेको विवादास्पद भूमी कालापानीमा एक्कासि सैनिक गतिविधि बढाएको छ । नेपालको दार्चुला जिल्ला नजिक पर्ने सो भूमि नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमाना हो । यसलाई तीनवटै मुलुकले आ–आफ्नो ढंगले दाबी गर्ने गरेका छन् । पछिल्ला दिन सो क्षेत्रमा भारतले एक्कासि सेनाको हवाई गस्ती बढाएको छ । भारतले सो क्षेत्रमा किन एक्कासि सैनिक अप्रेसन गरेको होला ? अनुमान लगाउन गाह्रो छैन ।

पछिल्ला दिन भारत र चीनबीच भुटानसँग जोडिएको सीमा क्षेत्र ‘दोक्लाम विवाद’ जारी छ । उक्त क्षेत्रमा यी दुई देशबीच घम्साघम्सीनै बढिरहेको छ । बिहीबार सम्मको त्यहाँको स्थितिलाई हेर्दा चीन र भारत युद्धकै संघारमा पुगिरहेका छन् । दोक्लाम सीमाको सवालमा भारतले अनावश्यक ढंगले भुटानको सार्वभौमिकता मिच्दै आफुसँग निहुँ खोजिरहेको आरोप चीनले लगाएको छ । वास्तवमा सो क्षेत्रमा भारतको कुनै अधिकार नरहेको बरु भुटानले त्यसबारेमा कुरा उठाउनुपर्नेमा उल्टै भारत आएर हस्तक्षेप गरेको चीनको दाबी छ । तर त्यो सवालमा भुटानले स्पष्ट रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

दोक्लाम विवाद चर्किरहेका बेला भारतले चीनसँग सीमा जोडिएको करिब १४ सय किलोमिटर सीमा क्षेत्रमा सैनिक अप्रेसनलाई तिव्र बनाएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोही अभियानका क्रममा कालापानीमा पनि भारतीय सेनाको हवाई गस्ती बढेको अनुमान गरिएको छ । भारतीय सेनाले अप्रेसनलाई तिब्र बनाएपछि स्थानीयबासीहरुमा समेत त्रास पैदा भैरहेको छ । नेपालले भने भारतको पछिल्लो गतिविधिबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । तर यसअघि नेपालले आफ्नो भूगोलको बारेमा भारत र चीनले आन्तारिक ढंगले गरेको एकलौटी समझ्दारीको चर्को विरोध गरेको थियो ।

केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा कालापानी क्षेत्रलाई दुई देशबीचको व्यापारिक केन्द्र बनाउने कुराको प्रस्ताव राखेका थिए । उनले सो प्रस्ताव राखेपछि चीनले समेत ग्रीन सिग्नल दिएको थियो । चीन र भारतबीच यो खालको कुरा उठान भएलगत्तै नेपालले त्यसको चर्को विरोध गर्दै आइरहेको छ । कालापानीको विषयमा वर्षौदेखि विवाद जारी छ । यसबारेमा नेपालले बेला–बेलामा राख्दै आएको प्रस्तावलाई भारतले कुनै सुनुवाई गरेको देखिदैन ।

यस्तो हुनसक्छ, एक्कासि सेना बढाउनुको भित्री रहस्य !
केही दिनअघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले पाकिस्तान र नेपालको भ्रमण एकैपटक गरे । पाकिस्तानमा त्यहाँको स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री वाङले त्यसलगत्तै नेपालको ३ दिने भ्रमण गरे । सो भ्रमणका क्रममा उनले नेपालको तराई–मधेसमा आएको बाढीलाई मध्येनजर गर्दै १० लाख डलरको सहयोगको घोषणा समेत गरे । उक्त सहयोग लगायत थुप्रै विषयमा आन्तारिक भेटवार्तामार्फत अप्रत्यक्ष समझदारी समेत भए ।

पाकिस्तान र नेपालको एकैपटक भ्रमण गरेर चीनले भारतलाई थप सशंकित बनाइदियो । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्टै भारतले पनि आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो । सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई लक्षित गरेर निकै धेरै आक्रोस पोखेको थिए । उनले अन्य छिमेकीहरुको नाम नलिई चीनतर्फ समेत घोचपेच गरेका थिए ।

भारतले पाकिस्तान र चीनलाई निशाना बनाइरहँदा छिमेकीहरुको विवादमा तटस्थ बस्ने नीति लिएको नेपाल पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उक्त वाकयुद्धमा फस्ने खतरा देखिदै गएको छ । दोक्लाम विवाद लगत्तै भारतको सक्रियता नेपालसँग जोडिएको सीमा क्षेत्रमा पनि बढ्नु नेपालका लागि अर्को चुनौतीको विषय हो । चीनसँग विवाद बढेलगत्तै उसँग जोडिएको सीमा क्षेत्रमा भारतले सेनाको सक्रियता बढाउँदा नेपालसँग समेत विवाद बढ्ने संकेत देखिएको छ । यसबारेमा नेपालले बेलैमा भारतसँग त्रिदेशीय सीमामा रहेको कालापानीको विषयलाई टुंग्याउनुपर्छ ।

प्रधानमन्त्री देउवाले कुरा उठाउनुपर्छ !
भदौ पहिलो सातादेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानीमा भारतीय सक्रियता बढेको विषयलाई निकै गम्भीर ढंगले भारतीय संस्थापन पक्षसँग कुरा राख्नुपर्छ । वर्षौदेखि विवादमा रहेको यो क्षेत्र चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला नेपालले कुटनीतिक चल्याँख्याई गरेर आफ्नो पक्षमा पार्न पनि सक्छ ।

यिनै विषयलाई मध्यनजर गर्दै प्रधनामन्त्री देउवाले कालापानी लगायतका विषयमा भारतीय सरकारसँग छलफल गर्नुपर्ने जानकारहरु बताउँछन् । हुनत, यो बेला प्रधानमन्त्री देउवालाई भारतले दोक्लाम विवादबारे स्पष्ट रुपमा भारतको पक्षमा बोल्न दबाब दिने आंकलन गरिदैछ । यो विषयमा नेपालले स्पष्ट रुपमा तटस्थ बस्ने कुरा बाहिर आइसकेको छ । त्यसैले दुई छिमेकीको विवादमा नेपाल तटस्थ बस्ने कुरामा अडान लिँदै कालापानीको विषयलाई गम्भीरता पूर्वक उठाउन सके वार्ताले सार्थक रुप लिन सक्ने आंकलन गर्न सकिन्छ ।