पु.समाचार

नेपाली सेनाले एघारवटा सैनिक हवाई साधन खरिद गर्दै

काठमाण्डौ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो । हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् ।

अघि बढिसक्यो खरिद प्रक्रिया
प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सात वटा हवाई साधन (हवाइहाज र हेलिकप्टर) किन्ने भएको हो । यीमध्ये कतिपयको खरिद प्रक्रिया अघि बढिसकेको छ । रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका ९मध्यम–१ र हल्का–२० हेलिकप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ ।

असारमा सम्झौता
शनिबारको कान्तिपुरमा लेखिएको छ, सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाइ जहाज एअर बस कम्पनीको हो । स्रोतका अनुसार जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भएको थियो । यसका साथै अमेरिकाले चार वटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका क्रममा त्यो टुंगो लागेको हो ।