पु.समाचार

बाढी पहिरोले रोक्दैछ तीजलाई छेकेन पत्रकार महासंघको चुनाबलाई

लक्ष्मी नेपाल/

काठमाण्डौ । राजधानीमा अहिले पत्रकारको जमात बढेको छ । देशमा बाढी र पहिरो रोकिएको मात्रै छ । झरी, बादल त उस्तै नै छ । त्यसलाई छिचोल्दै यतिबेला देशभरका पत्रकार राजधानीमा भेला भएका छन् । नेपाल पत्रकार महासंघको आइतबारदेखि राजधानीमा शुरु हुने २५ औं महाधिवेशनका लागि देशभरका पत्रकारको जमघट बढेको हो । बाढी र पहिरोले देशको पूर्वी तथा तराइ क्षेत्र त्राही त्राही भइरहेका बेला पत्रकार महासंघको चुनाब मिति उचित नै थियो त ? प्रश्न धेरै उब्जिएका छन् ।

एक महिना अघिदेखि तीजका कार्यक्रम हुने गरेको भन्दै आलोचना हुने गरेकोमा यस पटक धेरै ठाउँका महिलाहरुले तीज कार्यक्रमलाई बाढी पहिरो सहयोग विशेष बनाइरहेका छन् । कतिले त तीज कार्यक्रम नै नगर्ने पनि भनिरहेका छन् । यहीबेला पूर्व निर्धारित पत्रकार महासंघको चुनाब परेकाले यतिबेला यो चर्चामा रहेको हो ।

यो मुलुकमा विवादरहित केही हुनै सक्दैन । राजनीतिले नछोएको र नदेखेको केही बाँकी रहेन । स्वतन्त्र व्यवसायीकका रुपमा हेरिने गरेको पत्रकारको झुण्ड झनै राजनीतिक विवादमा फस्ने गरेको छ । राजनीतिक दलका नेता कार्यकर्तालाई विकासले कहिले गति पाउँला, देश रानीतिक चंगुलमा फस्दै जादा राम्रो मान्छे ठाउँमा पुग्न सकेन, जताततै भ्रष्टचार मौलायो भन्दै यसको न्युनिकरणका लागि नेताको भूमिका खै भनेर बारम्बार प्रश्न गर्ने पत्रकार आज यीनै र यस्तै खाले प्रश्नले घेरिएका छन् । पत्रकार र बाहिरको समूदायबाट । उम्मेदवारी दिने क्रममा नेताकै आशिर्वाद लिएकोदेखि महासंघको चुनाब गर्ने समय उचित नभएको जस्ता टिका टिप्पणी सामाजिक सञ्जाल फेसबुक र ट्यीटर भरी छरिएका छन् ।

पत्रकार बबिता बस्नेतले सामाजिक सञ्जाल फसबुकमा लेखेकी छन् ।
‘बाढी प्रभावित १२ जिल्लाका पत्रकारले कसरी समय ब्यवस्थापन गर्लानरु रिपोर्टिङ्ग गर्नु कि, बाढीले बस्नै नमिल्ने भएको घर र परिवारको रेखदेख गर्नु कि, काठ्माण्डौ सम्म आएर चुनावमा उठ्नु या भोट हाल्नु कि ? । अरु कसैले यस्तो बेलामा महाधिवेशन गरेका भए, यस्तो बिपदको बेलामा चुनाव भनेर पत्रकारले कति प्रश्न गर्थे होला, कति लेख्थे होला ।’

यस्तै अर्का पत्रकार भानुभक्त आचार्यले फेसबुकमा लेखेका छन्‘चुनावका लागि (सेना–पुलिस–व्यापारीसँग) चन्दा उठाएर महाधिवेसन स्थल आउने र सरकारी ढिकुटीबाट महाधिवेशन खर्च व्यहोर्ने प्रथाको अन्त्य गरौं । ठूला कुरा गर्दै गरौंला । सन्दर्भः नेपाल पत्रकार महासंघको चुनाव ।’

यसैगरी लेखक तथा पत्रकार अबिरल थापाले पत्रकारिताकी पार्टीकारिता शिर्षकको आफ्नै लेख शेयर गर्दै आफ्नो फेसबुक स्टाटस यस्तो लेखेका छन् ।

पत्रकारिताको आडमा केही राजनीतिक नियुक्ति, आर्थिक लाभ र थान मन्त्रीका प्रेस सल्लाहकार पड्काउन आफ्नो धर्म र विवेकको तिलाञ्जली दिनसक्नेहरूबाट नेपाली पत्रकारिता जगतले के आशा गर्ने ? निष्ठाको पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारको पाप नलागोस्, तर बाँकीका क्रियाकलाप र दौडधुप हेर्दा ती पत्रकार हुन् कि राजनीतिक दलका भजनमण्डली, प्रस्ट हुन्छ ।’

एउटा पत्रकार स्वतन्त्र हुनुपर्ने र उसको संगठन विवादरहित बन्नुपर्नेमा धेरैले शुभेक्षासहित चिन्ता ब्यक्त गरेका छन् ।

यीनै विषयको पेरीफेरीमा रहेर पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसंग सूर्यखबरले जिज्ञासा राख्यो । डा. विष्ट भन्छन्, “पत्रकार महासंघको चुनाब यसै पनि ढिला भइरहेकाले निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय भएको हो । देशमा बाढी पहिरोले जनधनको क्षति पुर्याएकोमा पत्रकार महासंघ पनि बढी नै चिन्तित छ तर अब त मौसममा पनि सुधार आउला भन्ने भएरै पनि चुनाबको मिति सार्नेबारे खासै गम्भिर भएनौ ।”

पत्रकार महासंघ राजनीतिक मुक्त भएन भन्ने सन्दर्भमा अध्यक्ष विष्टले राजनीतिबाट मुक्त नै त कहिले सक्दैन भन्दै संगठनभित्र भने राजनीति हुनु हुन्न भने । आस्था अनुरुप सबैले आ–आफ्नो प्यानललाई सघाउँनु यो नौलो कुरा नभइ स्वभाविक मान्नुपर्ने उनको तर्क छ । अध्यक्ष विष्टले पत्रकार महासंघको सबै तयारी पूरा भएको भन्दै स्वतन्त्र र सौहार्द रुपमै चुनाब सम्पन्न हुने विश्वास व्यक्त गरे ।

काठमाडौंको नेपाल प्रज्ञा भवनमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले आतइबार उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनले आउँदो कार्यकालको लागि अध्यक्ष, महासचिव, कोषाध्यक्ष, दुई उपाध्यक्ष, ६ सचिवसहित ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा १५ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनमा भाग लिन जिल्लाजिल्लाबाट प्रतिनिधि आउने क्रम चलिरहेको महासंघले जनाएको छ ।

अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले उम्मेदवारी घोषणा गरेका छन् । कोइरालालाई प्रेस चौतारी लगायत संगठनले समर्थन गरेका छन् भने आचार्य प्रेस युनियन र प्रेस सेन्टरबाट साझा उम्मेदवार बनेका छन् ।

महासंघका वर्तमान महासचिव मगरले भने स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार चुनाव हुने महासंघले जनाएको छ ।