राजनीति

संशोधन विद्येकबारे शंका उत्पन्न भएपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच यस्तो गोप्य सहमति !

काठमाडौं । संविधान संशोधन प्रस्तावमाथि संसदमा आज (सोमबार) मतदान हुँदैछ । तर संशोधन प्रस्ताव पारित हुने सम्भावना माथि शंका उत्पन्न हुँदै गएको देखिएको छ । संशोधन प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्र छ । संसोधन प्रस्तावको पक्षमा दुईतिहाई पुयाउन थप २२ सांसद अपुग देखिएको छ ।

१४ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन प्रस्तावको विपक्षमा उभिने आइतबार नै निर्णय गरिसकेको छ । संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाइसकेको छ । संशोधनको पक्ष र विपक्षमा खुलि नसकेका साना दलको ११ मत तान्न दलको दौडधूप सुरु भएको छ ।

त्यसैले सो प्रस्ताव पारित गर्ने अंक गणितको अहिलेनै आंकलन गर्ने स्थिति देखिएको छैन । संशोधन प्रस्ताव पास हुने स्वयम प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड विश्वस्त नभएको श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच यस्तो सहमति
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश र संघीय निर्वाचन सम्मनै चुनावी तालमेल र सहकार्य गर्ने गरी चार महत्वपूर्ण सहमति गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राती सो सहमति भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुसहित भएको बैठकमा राप्रपाले संविधान संसोधनमाथिको समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिमा विद्येयकको भविष्य, संघीय र प्रादेशिक निर्वाचनको मिति घोषणा, मन्त्री परिषदको थप विस्तार र सहकार्य विस्तार सहितका विषयमा छलफल भएको थियो ।

बैठकले संविधान संसोधन विद्येयक पारित हुने अवस्था नभएपनि राजपासँग गरेको सहमति अनुसार विद्येयकलाई अगाडि बढाउने निष्कर्स निकालेको एक नेताले जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै निर्वाचनको मिति घोषणा गर्ने र सोमबार कांगे्रससहितका सत्तारुढ दलहरु सहित राज्यमन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको बताईएको छ ।

त्यसरी नै दुई पार्टीविचको सहकार्यलाई अझै विस्तार गर्दै आगामि स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा समेत सहकार्य जारी राख्ने गरी टिम नै गठन गरेको छ ।