समाचार

चक्रपथ चौडा पार्ने काममा तीव्रता, अब ट्राफिक जाम घट्ने !

काठमाडौँ । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि र जाम घटाउनाका निम्ति विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ (धर्का तान्ने), बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ ।

यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए ।

“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ”, खनालले भने । सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन् ।