साहित्य

‘कोइराला र भिक्षुपछिका नयाँ कथा’ सार्बजनिक

काठमाडौँ । कथाकार महेश पौड्यालका कथामा मानवीय संवेदना, मानवीय सम्बन्ध र मनोविज्ञान प्रशस्त रहेको समीक्षकहरुले बताएका छन् ।

ऐश्वर्य प्रकाशनद्वारा प्रकाशित उनको नवीनतम कृति ‘त्यसपछि फुलेन गोदावरी’को विमोचनपछि समीक्षा गर्दै उपप्राध्यापक, समीक्षक, अनुवादक, कवि, आख्यानकार, समाजसेवीलगायत व्यक्तित्व बनाएका पौड्याललाई कथामै लाग्न समालोचकहरुले सुझाव पनि दिए ।

कार्यक्रममा प्रा अभि सुवेदीले बिपी कोइराला, भवानी भिक्षु जस्ता कथाकारको सामथ्र्य हराइरहेको अवस्थामा पौड्यालका कथामा परिपक्वता र वर्णनात्मक क्षमता प्रशस्त रहेको बताए । “केही कथामा भने आत्महत्याका प्रसङ्ग बढी छन्, अतिशयोक्तिपूर्ण पनि छन् र हिंसा बढी छ”, उनले भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग प्रमुख मातृका पोखरेलले उनका कथा समाजवादी यथार्थवादी नभए पनि तल्लो वर्ग लक्षित छन् भन्दै नयाँ कथा लेख्ने काम भएकामा सन्तोष व्यक्त गरे । समीक्षक कुमारी लामाले कथामा मृत्यु र विस्थापनका कुरा बढी आएको, पात्रहरु भाग्यवादी र रुढिवादी भएकामा असन्तोष व्यक्त गर्दै समसामयिक कथामा उनका कथा पृथक भएको बताए ।

प्रकाशनका तर्फबाट गणेशप्रसाद जोशी, प्रा डा अमरराज जोशी, शिक्षासेवी सुवास न्यौपाने र महेश क्षितिजले पौड्यालको व्यक्तित्वले आफूहरुलाई सधैँ आकर्षण गरिरहेको र कथाले पनि प्रशस्त पाठक पाउने बताए।

कथाकार पौड्यालले यथार्थ घटनालाई जस्ताको तस्तै पस्कने आफ्नो शैली सुधारेर आगामी दिनमा त्यसमा केही कल्पना पनि मिसाउने वाचा गरे । विमोचित कृतिमा २० कथा छन् । उनका यसअघि बालकथा, किशोर उपन्यास र समालोचनाका कृति प्रकाशन भइसकेका छन् ।