राजनीति

दुई नम्बर प्रदेशमा यसरी हुँदैछ दलहरुबीच कडा टक्कर, कांग्रेसका लागि देखियो शुभ संकेत !

काठमाण्डौ । असोज २ गते दुई नम्बर प्रदेशमा हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीमा दलहरु घनिभूत रुपमा अघि बढेका छन् । अधिकांश दलहरुले आफ्ना उम्मेद्वारहरु पनि घोषण गरिसकेका छन् । वास्तवमा तीन नम्बर प्रदेश अन्तर्गत रहेका ८ जिल्लाको १ सय ३६ स्थानीय तहमा यो पटक निर्वाचन हुँदैछ ।

ती स्थानीय तहमा आ–आफ्नै प्रभाव रहेको तीन ठुला दलका अतिरिक्त मधेसवादी दलहरुले समेत जनाइरहेका छ । नेपाली कांग्रेसले यो प्रदेशमा एक सयभन्दा बढी स्थानीय तह जित्ने दाबी गरिरहेको छ भने उसलाई टक्कर दिने अर्को प्रभावशाली दल नेकपा एमालेले भने ९० सिटभन्दा बढी जित्ने दाबी गरिरहेको छ । यी दुई दलले मधेसमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरिरहेका छन् ।

त्यस्तै माओवादी केन्द्रले भने पहिलो शक्ति दाबी नगरेपनि दोश्रो शक्तिमा आउने आंकलन गर्दै संगठनलाई सुदृढिकरण गर्ने अभियानलाई तिव्रता दिइरहेको छ । उता, मधेसवादी दलहरुले मध्ये यो प्रदेशमा राजपा अघि देखिएको छ । राजपाको यसअघिका चुनावमा आएको मतपरिणामले पनि राजपाको प्रभाव राम्रो देखिन्छ । संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकले पनि तीन ठुला दललाई टक्कर दिने तयारी गरिरहेको देखिन्छ ।

वास्तवमा दुई नम्बर प्रदेशमा कुन पार्टीले राम्रो मतपरिणाम ल्याउला ? यो प्रश्नबारे अहिले राष्ट्रव्यापी बहस चलिरहेको छ । यो विषयमा केही वर्षअघि सो क्षेत्रमा भएको चुनावी परिणाम र त्यसले दिएको संकेतलाई लिएर विश्लेषण गर्न सकिन्छ ।

यसकारण कांग्रेस सबैभन्दा अघि देखिन्छ !
यसअघि भएका संविधानसभा निर्वाचनमा सो प्रदेशमा सबैभन्दा अघि नेपाली कांग्रेस देखिन्छ भने त्यसपछि नेकपा एमाले देखिन्छ । तेश्रोमा राष्ट्रिय जनता पार्टी देखिन्छ भने चौथोमा मात्र माओवादी केन्द्र देखिन्छ । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनको परिणाममार्फत दलहरुले यसरी आ–आफ्नो स्थान सुरक्षित गरेका थिए ।

त्यसबेला नेपाली कांग्रेसलाई दुई नम्बर प्रदेशका आठ जिल्लाबाट जम्मा ३ लाख १३ हजारभन्दा बढी मत प्राप्त भएको देखिन्छ भने नेकपा एमाललाई २ लाख ८५ हजारभन्दा बढी मत प्राप्त भएको थियो । त्यस्ते राष्ट्रिय जनता पार्टीलाई २ लाख ५१ हजार मत प्राप्त भएको थियो । नेकपा माओवादी केन्द्रलाई २ लाख ११ हजारभन्दा बढी मत प्राप्त भएको थियो भने संघीय समाजवादी फोरमलाई १ लाख २१ हजारभन्दा बढी मत प्राप्त भएको थियो ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले जम्मा ९६ हजार ६ सयभन्दा बढी मत प्राप्त गरेको थियो । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा प्राप्त यो परिणामलाई आधार मान्दा नेपाली कांग्रेसको पक्षमा मतपरिणाम अत्याधिक आउने देखिन्छ ।

त्यसपछि क्रमसःअन्य दलहरुको स्थान देखिन्छ तर एमाले र राष्ट्रिय जनता पार्टीको मतमा धेरै अन्तर नभएकोले उनीहरुबीच कडा प्रतिस्पर्धा हुने आंकलन यसबाट गर्न सकिन्छ तर एमालेले दुई नम्बर प्रदेशमा आफ्नो प्रतिष्पर्धी नेपाली कांग्रेसनै भएको दाबी गरिरहेको छ । यद्यपि, पछिल्ला वर्ष संघीय समाजवादी फोरम लगायत मधेसका दलहरुले पनि आफ्नो सांगठानिक आधार राम्रो निर्माण गरेकाले कांग्रेस र एमालेको मत काटिनसक्ने आंकलन गरिदैछ तर जानकारहरुका अनुसार दुई नम्बर प्रदेशका प्रतिस्पर्धी दलहरु भनेका कांग्रेस र एमालेनै हुन् ।

उनीहरुलाई प्राप्त हुने मतपरिणामले नै त्यहाँको चुनावी जित हारको मुल्यांकन गर्न सकिन्छ । त्यसमा पनि कांग्रेसले आफ्नो जनाधार राम्रो भएको क्षेत्र घोषणा गरेको, दोश्रो संविधानसभा निर्वाचनमा राम्रो मतपरिणाम ल्याएको र अहिले पनि एकसयभन्दा बढी सिट प्राप्त गर्ने उद्घोषले उसको राम्रो पक्कड भएको आंकलन गर्न सकिन्छ ।