समाचार

दशैंमा घर जानुहुँदैछ ? मंगलबारदेखी अग्रीम टिकट बुकिङ खुल्ने !

काठमाण्डौ । आगामी मंगलबार यानी भदौ २७ गते देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् भने बैठकमा यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थिति थियो ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि व्यवसायीको विभिन्न मागको कारण बुकिङ खुलेको थिएन ।
आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए भने मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई बताए ।

‘दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्‍याउन सरकार प्रतिवद्ध छ । यातायात व्यवसायीले पनि यसमा सहयोग गर्नेछन्’ प्रवक्ता पाण्डेले भने ।

काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको अवस्था खराब रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरेका थिए ।

तर, मन्त्री बलायरले व्यवसायीको मागका विषयमा सरकार गम्भिर रहेको भन्द्यै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन अनुरोध गरेका थिए । त्यसैका आधारमा आज व्यवसायीले बुकिङ खोल्ने विषयमा सहमति जनाएका हुन् ।