अन्तर्राष्ट्रिय

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

२२ जेठ, काठमाण्डौँ ।  युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।

युक्रेनको दक्षिणी सहर खेरसनमा भएको रूसी ड्रोन आक्रमणमा एक जना ७५ वर्षीय वृद्धको मृत्यु भएको सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले बताएका छन् ।

जापोरिझियामा भएको अर्को ड्रोन आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

रूसी ड्रोन आक्रमण तथा गोलाबारीले निप्रोपेट्रोभस्कको पाभ्लोग्राड जिल्लामा एक जना महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्जाले शुक्रबार टेलिग्राम माफएत पुष्टि गरेका छन् ।

रूसले सन् २०२२ देखि युक्रेनलाई ड्रोन तथा मिसाइलले प्रहार गर्दै देशको दक्षिण र पूर्वका भागहरू कब्जा गरी रहेको छ ।

यसैगरी उत्तरपूर्वी युक्रेनको कोनोटोप सहरमा भएको रूसी आक्रमणमा तीन जना बालबालिका घाइते भएको सहरका मेयर आर्टेम सेमेनिखिनले टेलिग्राम मार्फत बताएका छन्।

रूसको रक्षा मन्त्रालयले शुक्रबार विभिन्न क्षेत्रमा १२३ वटा युक्रेनी ड्रोनहरू रोकी नष्ट गरेको बताएको छ भने युक्रेनको वायुसेनाले रातारात १९८ रूसी ड्रोन खसालेको बताएको छ ।