३१ असार, काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा भएको प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा प्रहरी हिरासतबाट समेत मुक्त भएका हुन्।
गत शनिबार होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा माजिद घाइते भएका थिए। प्रहरी हिरासतमा रहेकै अवस्थामा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उपचार पूरा भएपछि अस्पतालले बुधबार उनलाई डिस्चार्ज गरेको हो। त्यसलगत्तै मानव अधिकार आयोगको उपस्थितिमा उनलाई हिरासतबाट मुक्त गरिएको जनाइएको छ।
माजिदका कानुनी प्रतिनिधिहरूले घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। यातना तथा मानव अधिकार उल्लंघनसम्बन्धी विषयमा आयोगको प्रतिवेदनका आधारमा अगाडि बढ्ने उनीहरूको भनाइ छ।
माजिदमाथि भएको धरपकड र कुटपिटको विषयलाई लिएर पछिल्लो समय मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी तथा जेनजी अभियन्ताहरूले विरोध जनाउँदै आएका थिए।
परिवार स्रोतका अनुसार माजिदको उपचारमा लागेको सम्पूर्ण खर्च परिवारले नै व्यहोरेको छ। अब घटनाबारे कानुनी प्रक्रिया र अधिकार संरक्षणको विषय मुख्य चासो बनेको छ।





