ब्रेकिङ न्युज

सम्पत्ति आयोग मुद्दामा बारले पठायो चार ‘कानुनी विज्ञ’

३१ असार, काठमाडौं । सम्पत्ति छानबिन आयोग गठनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतलाई कानुनी राय दिन चार जना वरिष्ठ कानुनविद् एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले आयोगसम्बन्धी रिटमा विशेषज्ञ राय प्रस्तुत गर्न दुई–दुई जना कानुनविद्को नाम पठाएका हुन् ।

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र टीकाराम भट्टराईलाई एमिकस क्युरीका लागि मनोनयन गरेको छ । कार्की पूर्वमहान्यायाधीवक्ता हुन् भने उनी यसअघि पनि विभिन्न संवैधानिक तथा कानुनी विवादमा अदालतको सहयोगीका रूपमा सहभागी भइसकेका छन् । भट्टराई नेपाल बारका पूर्वअध्यक्ष हुन् र संवैधानिक कानुनका जानकार मानिन्छन् ।

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल र अधिवक्ता रमण कर्णलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । पोखरेल पूर्वमहान्यायाधीवक्ता हुन् भने कर्ण कर्पोरेट कानुनका जानकार तथा सर्वोच्च अदालत बारका सचिवसमेत हुन् ।

अब यी चारै जना कानुनविद्ले सम्पत्ति छानबिन आयोग गठनको संवैधानिकताबारे सर्वोच्च अदालतलाई विशेषज्ञ राय दिनेछन् ।

आयोग गठन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा करिब आधा दर्जन रिट निवेदन परेका छन् । तीमध्ये डा. प्रेमराज सिलवालको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले एमिकस क्युरी झिकाउने आदेश दिएको थियो ।