ब्रेकिङ न्युज

सस्तो बनाउने घोषणा कहाँ हरायो ? शुक्रबारदेखि बिजुलीमा नयाँ कर लागू

३१ असार, काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षसँगै विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार घरायसी ग्राहकले ५० युनिटभन्दा बढी बिजुली खपत गरेमा ५ प्रतिशत र अन्य सबै प्रकारका ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले विद्युत् प्रयोग गर्ने ग्राहकलाई दुई समूहमा विभाजन गर्दै घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग गर्नेलाई ‘अन्तिम उपभोक्ता’ मानेको छ । त्यस्ता ग्राहकलाई ५० युनिटसम्मको बिजुलीमा भ्याट लाग्ने छैन भने ५० युनिटभन्दा माथिको खपतमा मात्र ५ प्रतिशत कर थपिनेछ ।

तर उद्योग, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय, विद्यालय, अस्पताल, सिँचाइ, खानेपानी, चार्जिङ स्टेसन, होटल लगायतका ग्राहकले भने प्रयोग गरेको सम्पूर्ण बिजुलीमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ व्यवस्थाअनुसार बिलिङ प्रणाली तयार पारिएको छ । अब हालको विद्युत् महसुलमा भ्याट थपेर ग्राहकलाई बिल पठाइनेछ ।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् मूल्य नबढ्ने र महसुल समायोजनमार्फत उपभोक्तालाई राहत दिने बताएका थिए । तर विद्युत् नियमन आयोगमा पदाधिकारी रिक्त रहेका कारण महसुल समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन ।

विद्युत् क्षेत्रमा भ्याट लागू गर्ने विषयमा भने विज्ञहरूले प्रश्न उठाएका छन् । विद्युत् प्राधिकरणका सबै ग्राहकलाई ‘अन्तिम उपभोक्ता’ मान्नुपर्ने तर्क गर्दै सबैमा समान ५ प्रतिशत भ्याट लागू हुनुपर्ने उनीहरूको भनाइ छ ।