अन्तर्राष्ट्रिय

चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून

३१ असार, काठमाडौं । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले अप्रिलदेखि जुनसम्मको अवधिमा अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार भएको जनाएको छ । यो एएफपीले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूको ४.५ प्रतिशतको अनुमानभन्दा कम हो भने सन् २०२२ को चौथो त्रैमासिकयताकै न्यून वृद्धि हो । यो चीन सरकारले चालु वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यभन्दा पनि तल रहेको छ ।

एनबीएसले पहिलो छ महिनामा राष्ट्रिय अर्थतन्त्र समग्रमा स्थिर दायरामै सञ्चालन भएको जनाएको भए पनि बाह्य वातावरण अझै अनिश्चित रहेको र देशभित्र उत्पादन बलियो भए पनि माग कमजोर रहेको स्वीकार गरेको छ । आर्थिक पुनरुत्थानलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता अझै कायम रहेको ब्युरोको भनाइ छ ।

चीनको सम्पत्ति क्षेत्रमा लामो समयदेखि देखिएको सङ्कट र उपभोक्ता खर्चमा आएको सुस्तताले सरकारलाई निर्यातमा बढी निर्भर बनाएको छ । तर अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलघाँटीबाट हुने ढुवानी प्रभावित भएपछि चीनको व्यापारमा नयाँ चुनौती थपिएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने भएकाले त्यसको अवरोधले ऊर्जा आपूर्ति र व्यापारमा असर पारेको छ ।

यद्यपि केही सूचकले सकारात्मक सङ्केत पनि देखाएका छन् । जुन महिनामा खुद्रा बिक्री एक प्रतिशतले बढेको छ । यो बजारको अपेक्षाभन्दा राम्रो हो । औद्योगिक उत्पादन पनि ५.३ प्रतिशतले वृद्धि भएको छ । यो अनुमानभन्दा माथि रहेको एनबीएसले जनाएको छ । तर स्थिर सम्पत्ति लगानी भने पहिलो छ महिनामा ५.७ प्रतिशतले घटेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विश्लेषक यू सूले कमजोर घरेलु माग चीनको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभयो ।

उनका अनुसार सरकारले उपभोग बढाउन वित्तीय प्रोत्साहन, न्यूनतम पारिश्रमिक वृद्धि तथा अग्रपङ्क्तिका श्रमिकको तलब बढाउनेजस्ता उपायमा जोड दिन सक्ने सम्भावना छ । अर्का विश्लेषक झाङ झिवेईले भने पहिलो त्रैमासिकमा पाँच प्रतिशतको वृद्धि भएकाले सरकारले तत्काल आफ्नो आर्थिक नीति परिवर्तन गर्ने सम्भावना कम रहेको बताए। उनका अनुसार बलियो निर्यातका कारण चीन अझै वार्षिक वृद्धि लक्ष्य हासिल गर्ने मार्गमै रहेको छ ।

मङ्गलबार सार्वजनिक अर्को तथ्याङ्कअनुसार जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको थियो । विश्वव्यापी एआई प्रविधिको विस्तारसँगै चिप्स, सेमिकन्डक्टर र कम्प्युटिङ उपकरणको माग बढेकाले निर्यातमा उल्लेख्य वृद्धि भएको हो । सेमिकन्डक्टर निर्यातको मूल्य एक वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ भने डाटा प्रशोधन उपकरणको निर्यात ५३.१ प्रतिशतले बढेको छ ।

यद्यपि क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स–प्रिचर्डले सेमिकन्डक्टर निर्यातको मूल्य वृद्धि मुख्यतः विश्व बजारमा मेमोरी चिपको अभावका कारण मूल्य बढेकाले भएको र वास्तविक निर्यात परिमाण भने घटेको बताएको छ । यसबीच चीनको युरोपेली सङ्घ (इयु) सँगको व्यापारिक विवाद कायम रहेको छ । जुन महिनामा चीनले इयुसँग ३२ अर्ब ९० करोड अमेरिकी डलरको व्यापार बचत कायम गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे महिनाको बेइजिङ भ्रमणपछि अमेरिका–चीन सम्बन्ध केही स्थिर बने पनि चिप प्रविधि, व्यापार असन्तुलन र उच्च प्रविधिसम्बन्धी प्रतिस्पर्धा भने अझै दुवै देशबीचको प्रमुख विवादको विषय बनेका छन् । –––