समाचार

सेप्टेम्बर ११ को हमलापछि के गर्दैछ अमेरिका, यस्ता छन् उसका सैनिक मिसनहरु !

एजेन्सी । विश्वको शक्तिशाली मुलुक अमेरिकामा आजभन्दा १६ वर्षअघि एउटा अकल्पनीय घटना घट्यो । अमेरिकी ट्वीन टाउर (व्यापारिक केन्द्र) मा एक्कासि हमला भयो र दुई हजारभन्दा बढी मानिसको ज्यान जानुका साथै र अर्बौको क्षति भयो । उक्त घटनामा पाँच हजारभन्दा बढी निर्दोष अमेरिकी नागरिकहरु घाइते भए ।

सातवटा भवनहरु मिलेर बनेका दुईवटा ट्वीन टावरमा एक्कासि विशाल जहाजहरु ठोक्याइएलगत्तै भवन जलेर नष्ट भएका थिए । वल्र्डट्रेड सेन्टर लगायत पेन्टागनलाई समेत निशानामा पारिएको उक्त घटनाले विश्वलाई तरंगित पािरदियो ।

विश्वकै शक्तिशाली मुलुकको केन्द्रमा भएको यो हमलाका कारण विश्व तर्सित मात्र भएन, असुरक्षितनै महसुस गर्न पुग्यो । सन् २००१ को सेप्टेम्बर ११ मा भएको यो भीषण दुर्घटनालाई आजको दिनमा विश्व मानव सभ्यताकै कालो दिनका रुपमा लिइने गरिन्छ ।

वास्तवमा यो घटनामा मुस्लिम अतिवादी संगठन, जसको नेतृत्व ओसामा विन लादेनले गरेका थिए, उसको हात रहेको पुष्टि भयो । त्यसपछि अमेरिका मुस्लिम अतिवादी संगठनहरुको विरुद्धमा अभियाननै बनाएर अघि बढिरहेको छ ।

ट्वीनटावर हमलालगत्तै अमेरिकाले मध्यपूर्वका अधिकांश मुस्लिम अतिवादी संगठनहरुले चलाएका हिंसात्मक आन्दोलनलाई सैनिक शक्ति लगाएर दबाउने अभियानको नेतृत्व गरिरहेको छ । आजको दिनमा उसले अफगानिस्तानदेखि सिरियासम्म आफ्ना सेनाहरु तैनाथ गरिरहेको छ । मध्यपूर्व हुँदै उसले एसियाली मुलुकहरुमा समेत आफ्नो सैनिक तैनाथीलाई बढ्वा दिइरहेको छ ।

उक्त हमलापछि उसले त्यसको नेतृत्व गरेका भनिएका ओसामा विन लादेनको समेत हत्या गरिसकेको छ भने त्यही बीचमा आफुलाई बारम्बार धम्की दिने इराक र त्यसको नेतृत्व गरिरहेका तत्कालीन राष्ट्रपति सद्धाम हुसेनको समेत सफाया गरिसकेको छ । अमेरिकाको यो रफ्तारलाई हेर्दा उसले आतंकवादी अभियानमा सफलता पाइरहेको देखिन्छ तर उसका सैनिक बुटले कुल्चिएर निर्दोष मानव जाति र उसको सभ्यतानै तहसनहस हुने खतरा भएको भन्दै विश्वशान्तिको अभियान समेत चलिरहेको छ ।

वास्तवमा अमेरिकाले उक्त घटनापछि मध्यपूर्वमै हमला केन्द्रीत गर्नाका केही कारणहरु रहेका छन् । पहिलो त उक्त हमला मुस्लिम अतिवादी संगठनको नेतृत्वमा भएको थियो भने दोश्रो सेप्टेम्बर ११ को घटनामा सहभागी भएका १९ जना जहाज अपरहणकारीहरुमध्ये १५ जना साउदी अरबका थिए ।

त्यसैले अमेरिकाले आफ्नो मुलुकविरुद्ध मध्यपूर्वका अतिवादी मुस्लिम संगठनहरु लागिपरेको पुष्टि गरेको थियो । सन् २०११ को घटनाअघि पनि अमेरिकाको उक्त व्यापारिक भवनमा आक्रमण भैसकेको थियो । सन् १९९३ मा भएको सो घटनापछि अमेरिकी सुरक्षा संयन्त्रले संयममता अप्नाउन नसक्दा त्यति ठूलो दुर्घटना भयो, जसले अमेरिकी सुरक्षा संयन्त्रलाई समेत चूनौती दिएको थियो ।

अहिले के गर्दैछ अमेरिका ?
वास्तवमा पहिलो र दोश्रो विश्वयुद्धमा कडा प्रतिस्पर्धा गरिरहेका अमेरिका र जर्मनी लगायतका मुलुकहरु दोश्रो विश्वयुद्धपछि आंशिक रुपमा शान्तिको पक्षमा देखिदै गएका थिए । जसमा बेलायत, रुस, जापान लगायतका मुलुकहरु एकअर्काका साथमा रहेका थिए । अमेरिकाले जापानमाथि हमला गरेर विश्वलाई त्रासमा पारिरहेको थियो ।

जर्मनी दोश्रो विश्वयुद्धमा परेर उठ्नै नसक्नेगरी थला परेको थियो । जर्मन र जापान लगायतका देशलाई तहसनहस बनाएको अमेरिकाको घमण्ड उत्कर्षमा पुगिरहेको बेला मध्यपूर्वबाट मुस्लिम अतिवादी संगठनहरुको जन्म भयो । सेप्टरम्बर ११ जस्ता घटनाहरु घट्न पुगे । सेप्टेम्बर ११ पछि मुस्लिम अतिवादी संगठनको निशाना यूरोपमा परेको छ । यूरोपका अधिकांश मुलुकहरुमा उनीहरुले अहिले आत्मघाती हमलाहरु गरिरहेका छन् । तर अमेरिका भने आफैमा सतर्क छ । उसले आफ्ना सुरक्षा संयन्त्रहरुलाई अतिवादी संगठनविरुद्ध लगाइरहेको छ ।

अमेरिकाका लागि उत्तरकोरिया अर्को चूनौती
वास्तवमा दोश्रो विश्वयुद्धलगत्तै सन् १९८९ मा पूर्वी जर्मन र पश्चिम जर्मन एक भए । जर्मनीका जनताले बर्लिन पर्खाल ढाल्न पुगे । बर्लिन पर्खाल ढाल्न महत्वपूर्ण भूमिका खेल्ने जनताको पक्षमा अमेरिकाले साथ थियो, जो कम्युनिष्ट शासनको अभ्यास गर्दै आएको जर्मनीको विरुद्धमा थियो । बर्लिन पर्खाल ढालेर एउटै जर्मनी बनेपछि अमेरिकाले विश्वबाट कम्युनिष्टहरु सकिए भनेर उद्घोष गर्यो । रुसलाई समेत त्यसबेला धक्का लागेको थियो ।

त्यसको करिब २० वर्षपछाडि अहिले अमेरिकाका लागि अर्को कम्युनिष्ट मुलुक उत्तरकोरिया चूनौतीका रुपमा अघि आएको छ । उत्तर र दक्षिण कोरिया जसरी पूर्वी र पश्चिम जर्मनी छुट्टिएका थिए, त्यसरी नै छुट्टिएका छन् । यो मामलामा पनि अमेरिकाले दक्षिण कोरियालाई साथ दिएको छ । उत्तरकोरियाविरुद्ध उसले नाकाबन्दी लगाइसकेको छ ।

उत्तरकोरियाले पनि अमेरिकालाई आक्रमण गर्ने भन्दै धम्की दिइरहेको छ । उसले बारम्बार आणविक र हाइड्रोजन बमहरुको परीक्षण गरिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने अमेरिका यसबेला मुस्लिम अतिवादविरुद्ध मात्र लडिरहेको छैन, उसले कट्टर कम्युनिष्ट शासन भएका मुलुकहरुविरुद्धको अभियानलाई समेत तिव्रता दिइरहेको छ । यो उसका लागि थप चूनौती समेत हो ।