राजनीति

दुई नम्बर प्रदेसको राजधानी बिरगंज हुन्छ : गच्छदार

वीरगन्ज । उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताए । संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको उनको भनाइ थियो ।

केही दलले आफ्नो निजी स्वार्थका लागि जतिसुकै संविधानको विरोध गरेपनि यसले हिमाल, पहाड र तराई सबैलाई समानताको अधिकार दिएको बताए । २ नं प्रदेशको राजधानी जनकपुरलाई बनाउन आफूलाई दबाब आइरहेको बताउँदै उपप्रधानमन्त्री गच्छदारले भने, “वीरगन्जमा पर्याप्त पूर्वाधार भएकाले प्रदेशको राजधानी वीरगन्ज पनि हुनसक्छ ।”