पु.समाचार

जब डिआइजी सर्वेन्द्र खनाल एक्कासि सडकमा देखिए, आउन थाले यस्तो प्रतिक्रिया !

काठमाण्डौ । केही दिनअघि राजधानीको न्युरोडस्थित नेपाल वायू सेवा निगमको कार्यालय अगाडि ट्राफिक प्रहरी महाशाखाका आयूक्त डिआइजी सर्वेन्द्र खनाल एक्कासि देखापरे । उनी सडकमा देखिएलगत्तै फटाफट अघि बढे र माइक्रोवस चालक र सहचालकहरुलाई सम्झाउन थाले । उनले प्रत्यक्ष रुपमा सडकमा ओर्लिएर चालकलाई सम्झाइरहँदा सोही माइक्रोमा सवार यात्रुहरुले उनको कदमको प्रशंसा गरिरहेका थिए ।

त्यहीबेला अर्को गाडीमा सवार एक स्कुले किशोरीले डिआइजी खनालको कामको प्रशंसा गर्दै ‘गुड जब सर’ भन्दै खुलेरै प्रशंसा गरिन् । त्यसबेला खनालले मन्द मुस्कान फयाँके तर आफ्नो कर्तव्यमा निरन्तर लागिरहे । केही माइक्रोबसमा चेक गरेपछि उनले त्यसका चालक र सहचालकलाई निकै गम्भीरतापूर्वक सम्झाए । डिआइजी खनाललाई यो अभियानमा सहयोग गर्न माइक्रोबस व्यावसायी संघका पदाधिकारीहरु लगायतले सहयोग गरेका थिए ।

त्यसैको केही हप्ताअघि देखि डिआइजी खनालले मोटरसाइकल चालकहरुका लागि पनि अभियान चलाएका थिए । केही महिनाअघि ट्राफिक महाशाखामा सरुवा भएर आएका खनालले त्यहाँ आएलगत्तै सुरु गरेको पहिलो अभियान थियो त्यो । उनले त्यसबेला धेरै मोटरसाइकल चालकहरुलाई सम्झाउँदै जथाभावी पार्किङ नगर्न र अनावश्यक ढंगले यात्रामा रहँदा ओभरटेक नगर्न सुझाव दिएका थिए ।

उनको त्यो अभियान पनि प्रभावकारी भएको भन्दै प्रशंसा भएको थियो । राजधानीको सडक व्यवस्थापनमा पछिल्लो समयमा देखिएको अस्तव्यस्त अवस्थालाई व्यवस्थापन गर्न यसबेला डिआइजी खनालले निकै गम्भीर ढंगले लागेका छन् । उल्लेखित अभियानहरुले यसको पुष्टि गर्छ तर उनको यो अभियानलाई साथ दिने हातहरु कति हुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त भएपछि सरकारले केही महिनाअघि मात्र डिआइजी खनाललाई त्यसको व्यवस्थापनका लागि भन्दै ट्राफिक महाशाखामा ल्याएको थियो । उनी यसअघि नेपाल प्रहरीका विभिन्न महत्वपूर्ण विभागहरुमा जिम्मेवारी सम्हालेर आएका अनुभवी प्रहरी अफिसर हुन् । उनले ट्राफिक प्रहरी महाशाखामा आएलगत्तै उपत्यकाका सडकमा बढिरहेको ट्रिपर आतंकलाई तत्काल रोक्ने घोषणा गरेका थिए ।

अधिकांश टिपर व्यावसायीहरु डनहरुको प्रभावमा रहेको भन्दै उनले टिपरेको आतंक जारी रहे त्यसलाई सुरुमै चेतावनी दिएका थिए । पछिल्ला दिन राजधानीका सडकहरुमा टिपरको आतंक उत्तिक्कै बढेको गुनासोहरु बाहिर आइरहेका छन् । ती गुनासाहरुलाई सम्बोधन गर्न डिआइजी खनालले सुरुमै त्यसको व्यवस्थापन गर्ने उद्घोष गरेका थिए ।

त्यस्तै, उनले ट्राफिक महाशाखाको जिम्मेवारी लिएगत्तै उद्घोष गरे लगायतका लोकप्रिय कार्यक्रमहरुमा उनले सफलता हासिल गर्दै गएका छन्, जसका कारण उनको लोकप्रियता झनै बढ्दै गएको सर्वसाधारणहरुको भनाईबाट पुष्टि हुन्छ ।