सूचना प्रविधि

क्यान कमटेकको अवलोकन बारे यस्तो छ पछिलो समाचार

काठमाडौँ । भुकुटीमण्डपमा आज सम्पन्न चारदिने ‘सुबिसु क्यान कमटेक २०१७’ को एक लाख १६ हजार ३१८ जनाले अवलोकन गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले भदौ २९ गतेबाट कमटेक प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

यस संस्करणको क्यान कमटेकमा कम्युनिकेशन र सेक्युरिटी टेक्नोलोजीलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो । इन्टरनेट एवं दूरसञ्चार सेवाप्रदायक, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइटी कलेज तथा तालिम प्रदायक पंस्था, पेमेन्ट सोलुसन्सलगायत कुल ९० स्टल रहेका थिए ।

यसपटक क्यान कमटेकको अवसरमा प्रदर्शनीकर्ता कम्पनीले आफ्ना सेवा र वस्तुको आकर्षक योजनाका साथ उपभोक्तामाझ प्रवद्र्धन गरेका क्यान महासंघका कार्यवाहक अध्यक्ष हेमन्त चौरासियाले बताए । “आइसिटी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र संस्करणलाई उपभोक्ताले एकै ठाउँबाट जानकारी लिन पाएका छन् । व्यवसायी र उपभोक्तालाई यस कमटेकले जोडेको छ,” उनले भने ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीसम्बन्धी कम्पनीले भाग लिएको क्यान कमटेकमा शीर्ष प्रायोजक सुबिसु केबलनेट प्रालि रहेको थियो भने डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा नेटिस, सिल्भर स्पोन्सरमा एस पावर बिपिइ र प्रिन्ट स्पोन्सरमा हाइसेन्स रहेका थिए ।

कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधि र संस्करण भित्रिएका छन् भने अन्तर्राष्ट्रिय ब्रान्डका प्रोजेक्टर, प्रिन्टर, एन्टिभाइरस, नेटवर्किङ प्रडक्टलगायत कमटेकमार्फत सार्वजनिक भएका छन् ।

नेपालका स्थानीय कम्पनीले उत्पादन गरेका अनलाइन ट्याक्सी सिष्टम, पेमेन्ट सिस्टम तथा सफ्टवेयर प्रविधिले पनि अवलोकनकर्ताको ध्यान तानेको थियो ।