पु.समाचार

केही दिनअघि अपरहणमा परेका रोल्पाका गाउँपालिका अध्यक्षको अनौठो बयान, अपहरणकारीले यस्तोसम्म गरेछन् !

रोल्पा ।  ‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने अनकन्टार जंगलमा जुकाले वेस्सरी टोक्यो। खुट्टाबाट रगत खुवै बग्यो। अपहरण गरिएको भोलिपल्ट बिहानदेखि दिनभर खाना समेत पाइएन्।’

जंगलको बाटोमा अलमलिएपछि घर्तीलाई नियन्त्रणमा लिएका नेकपाका कार्यकर्ता पनि भोकभोकै हिडेको प्रमुख घर्ती बताउँछन्। ‘जंगलमा खानेकुरा पाउने अवस्था थिएन। उनीहरुले पनि खाने वस्तु केही बोकेका थिएनन्,’ प्रमुख घर्तीले थपे, ‘एकजनाको झोलामा भएको एउटा स्याउ मलाई खान दिए।’

नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिका वडा नम्बर २ कोइजबाङ ससुराली घरबाटै प्रमुख घर्तीलाई भदौ २९ गते रातको एघार बजे अपहरण गरेको सुरक्षा अधिकारीले जानकारी दिए।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर्तीको खोजी गरिएको थियो। घर्तीलाई नेकपा कार्यकर्ताले रोल्पाका तीन पत्रकारको रोहबरमा रोल्पा नगरपालिका–१० धबाङ भनभनेबाट शनिबार साँझ छाडेको प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईले जानकारी दिए।

पत्रकारको रोहबरमा मुक्त भएपछि प्रमुख घर्तीले आफूलाई सकुशल छाडेको बताए। ‘ससुराली घरबाट नियन्त्रण गर्दा अभद्र व्यवहार गरेपनि नियन्त्रण अवधिभर सम्मानजनक व्यवहार गरे’, प्रमुख घर्तीले भने, ‘जनसत्ताले सोधपुछका लागि ल्याइएको हो भन्दै थिए।’

यतिधेरै गाउँपालिकाको सभा उद्घाटनमा नआउने प्रचण्ड थबाङ आउन खोजेको बारे पनि चासो राखेको घर्तीले बताए। सभाको उद्घाटनमा प्रचण्ड आउने कार्यक्रमलाई प्रभावित गर्न खोजेका हुन सक्ने आंकलन गरेका छन्।

नेकपाका जिल्ला सचिव दलबहादुर खत्रीले जनसत्ताले सामान्य सोधपुछको लागि बोलाएको भन्दै सकुशल छाडिएको बताए। सचिव खत्रीले दाबी गर्दै भने, ‘अपहरणको हल्ला फिजाइयो। सोधपुछका लागि बोलाएको मात्र हो। उहाँ हाम्रो सत्तामै सुरक्षित हुनुहुन्थ्यो।’

प्रमुख घर्तीलाई छाडिएपछि पत्रकारहरुले सदरमुकाम लिबाङ ल्याएर प्रशासनको जिम्मा लगाएका थिए। प्रमुख जिल्ला अधिकारी भट्टराई र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले शनिबार रातको १२ बजे रोल्पा नगरपालिकाका मेयर पुरण केसीलाई जिम्मा लगाएका थिए। प्रहरीले घर्तीको अस्पतालामा स्वास्थ्य जाँच गराउँदा स्वस्थ रहेको जनाएको छ।

तत्कालीन विद्रोही माओवादीका लडाकु कमाण्डर समेत रहेका प्रमुख घर्तीलाई आइतबार जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढालाई जिम्मा लगाइएको प्रहरी प्रमुख थापाले बताए।

प्रहरीले किटानी जाहेरी दिन आग्रह गरेको भन्दै प्रमुख घर्तिले किटानी जाहेरी दिने वा नदिने भन्ने सोंचविचारमै रहेको बताए। ‘अपहरण गर्दा केही चिने जस्ता भएपनि अपहरणमुक्त गर्दा कोही चिनेका थिएनन्,’, प्रमुख घर्ति भन्छन्।

गाउँपालिका प्रथम सभाको तयारीमा जुटेकै बेला अपहरणमा परेका घर्ती मुक्त हुँदा अर्थात् शनिबार सभा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रको अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभाको उद्घाटन गरेका थिए। अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष रामकिरणी रोकाको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, प्रमुख घर्ती नियन्त्रणमा हुँदा खोजीका लागि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको थियो। नियन्त्रणमुक्त भएपछि सबै सुरक्षाकर्मी फिर्ता भइरहेको प्रजिअ डा.भट्टराईले जानकारी दिए। प्रदेश नम्बर ५ का प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले रोहबरमा बस्ने पत्रकारलाई धन्यवाद दिएका छन्।

घर्तीको खोजीकै बेला प्रहरी नियन्त्रणमा ल्याइएका नेकपाका नेता केशबहादुर बाँठालाई पनि प्रहरीले घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट आइतबार दिउँसो तीन बजे छाडेको छ।