राजनीति

राष्ट्रियता र लोकतन्त्र अहिलेको अनिबार्य आवस्यक्ता –अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताए ।

पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष राणाले विभिन्न शक्तिका बढ्दै गएको हस्तक्षेपले सामाजिक सद्भाव कचमचिएको र राष्ट्रिय एकता संकटमा परेको अहिलेको अवस्थामा देशमा राजनीतिक स्थिरता, समन्वयात्मक सम्बन्धको खाँचो औँल्याए ।

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा विकास र जनताको समृद्धि कायम गर्न सकिने बताउँदै उनले भने–‘‘मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ ।”

संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँग सहकार्य गरी आगामी चुनावमा सहभागी हुने जानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताए ।

उनले विगतमा एकता अधिवेशन भएपछि चुनाव चिन्ह हलो राख्ने सहमति भएकामा त्यो पूरा हुन नसकेको, विधानमा व्यवस्था गरिएको निर्देशन समिति गठन नभएकालगायत कारणले पार्टी विभाजन हुन पुगेको जानकारी गराए।