१९ असार, काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँमा हुने सीमापार भुक्तानी कारोबारलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु गरेका छन्।
बैंकहरूले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार यस साझेदारीसँगै सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ।
बैंकका अनुसार नयाँ प्रणाली लागू भएसँगै परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियाको स्थान स्वचालित र वास्तविक समयमै (रियल-टाइम) भुक्तानी हुने प्रणालीले लिनेछ। यसबाट नेपाल–भारतबीच हुने वित्तीय कारोबार थप छिटो, सहज र भरपर्दो हुने विश्वास गरिएको छ।
दुवै बैंकले आगामी दिनमा एपीआईमार्फत अमेरिकी डलरमा हुने सीमापार भुक्तानी सेवा सञ्चालनका लागि पनि सहकार्य गर्ने तयारी रहेको जनाएको छ। यसले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।
सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहल सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने बैंकको प्रतिबद्धताको निरन्तरता भएको बताए। उनका अनुसार यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउँदै ग्राहक अनुभवमा उल्लेखनीय सुधार ल्याउनेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय संस्थागत प्रमुख राजकमल बस्नेतले सानिमा बैंकसँगको सहकार्यले स्ट्यान्डर्ड चार्टर्डको अन्तर्राष्ट्रिय सीमापार बैंकिङ विशेषज्ञता र सानिमाको प्रविधिमैत्री एपीआई समाधानलाई एकीकृत गरेको बताए। उनका अनुसार यसबाट अन्तर्राष्ट्रिय कारोबारको समय र लागत घट्नुका साथै पारदर्शिता, सुरक्षा, दक्षता र नियामकीय अनुपालनमा समेत सुधार हुनेछ।





