राजनीति

नेपाली सेनालाई शक्तीशाली बनाउन रक्षामन्त्रीको यस्तो आयो निर्देशन

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा ‘विपद् व्यवस्थापन तथा विकास निर्माणका सम्बन्धमा भइरहेको प्रयास र प्रगतिबारे जानकारी दिँदै उहाँले तराईमा डुबान हुँदा, बाढीपहिरो जस्ता विपद् आउँदा उद्धार तथा राहत बाँड्ने कार्यमा नेपाली सेनाको योगदान महत्वपूर्ण भएको बताए ।

मन्त्री प्रधानले भने, “नेपालमा बाढीपहिरोको समस्या सधैँ भइरहन्छ । यसका लागि अबदेखि अगाडि नै आवश्यक सामग्रीका साथ तयारी अवस्थामा बस्नुपर्छ ।” बन्न लागेको विपद् व्यवस्थापन ऐनका बारेमा बृहत् छलफल गरी प्राकृतिक प्रकोप न्यून गर्न जरुरी भएको उनको भनाइ थियो ।

प्रधानसेनापति रवीन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्रको विकास निर्माणको काममा हातेमालो गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गर्दै क्षमताले भ्याएसम्म जिम्मेवारी आएमा वहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आकस्मिक उद्धारका लागि सेनाका लागि एयर एम्बुलेन्स जरुरी भएको पनि उल्लेख गरे । स्वयम्भू बारुदखाना काठमाडौँका बढी भीडभाडपूर्ण वस्तीमा रहँदैआएकाले त्यसलाई बाहिर स्थानान्तरण गर्ने तयारी रहेकोसमेत उनले जानकारी दिए ।

प्रधानसेनापति क्षत्रीले सीमामा देखिएका समस्याको कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गरे ।

बैठकमा सांसद बालकृष्ण खाँण, डा गंगाधर पराजुली, रवीन्द्रप्रताव शाह, लोकमणि ढकाल, विक्रमबहादुर थापा, सन्तकुमार दरै, टीकाराम चेम्जुङ, रेखा शर्मा, श्यामप्रसाद ढकाल र प्रेम सुवालले विपद् व्यवस्थापनमा खटिने नेपाली सेनालाई आगामी दिन स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकले नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसैगरी, घुम्ती र मोड घटाउन लघु सुरुङ मार्ग बनाउन दीर्घकालीन योजना अघि ल्याउन नेपाली सेनालाई निर्देशन पनि दिइएको छ ।

त्यसगैरी, उद्धार कार्यका लागि प्रत्येक प्रदेशमा एक/एक वटा हेलिकप्टर (एमआइ–१७) र तीन वटा साना हेलिकप्टर नेपाली सेनालाई उपलब्ध गराउन बैठकले रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।