विचार/ब्लग

मंसिरको चुनावमा कुन पार्टी पहिलो हुँदैछ, २ नम्बर प्रदेशको चुनावी परिणामले दियो यस्तो संकेत !

काठमाण्डौ । दुई नम्बर प्रदेशमा तेश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै संविधान कार्यान्वयनको एउटा खुट्किलो पार भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख र दोश्रो चरणको निर्वाचन असारमा भएको थियो । तेश्रो चरणको निर्वाचन असोज २ गते सम्पन्न भएर मतगणना जारी रहेको छ ।

पहिलो, दोश्रो र तेश्रो चरणको निर्वाचनको मतपरिणामलाई हेर्दा पहिलो र दोश्रोमा एमाले, तेश्रो चरणको निर्वाचनमा कांग्रेस अघि देखिएका छन् ।

यद्यपि, दुई नम्बर प्रदेशको अन्तिम मतपरिणाम आइसकेको छैन तर अग्रताका हिसाबले कांग्रेस निकै अघि भएकोले सोही पार्टीले दुई नम्बर प्रदेशमा बाजी मार्ने निश्चित देखिन्छ, तर समग्र मुलुकको स्थानीय तहको सिट संख्या हेर्दा अहिले पनि नेकपा एमालेनै अघि देखिन्छ । दोश्रोमा नेपाली कांग्रेस र तेश्रोमा माओवादी केन्द्र, त्यसपछि मधेसवादी दलहरु आएका छन् ।

वास्तवमा समग्र स्थानीय तहको निर्वाचनको मतपरिणामले आगामी मंसिरमा हुने प्रदेशसभा र संघीय संसदको निर्वाचनमा कत्तिको प्रभाव पार्छ त ? यो विषयमा बहस सुरु भइसकेको छ ।

यसरी गर्दैछ एमालेले तयारी
नेकपा एमालेले शुक्रबारदेखि सोही विषयमा समीक्षा गर्न र आगामी मंसिरको निर्वाचनका लागि रणनीति तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

वास्तवमा यो पटक नेकपा एमालेले दुई नम्बर प्रदेशमा देखिएको पार्टीको असफलताको विषयमा समेत गम्भीर बहस चलाउँदैछ । दुई नम्बर प्रदेशमा एमालेको असफलताका पछाडि केपी ओलीको नेतृत्व असफल भएको आरोप सोही पार्टीभित्र रहेको एउटा पक्षले लगाइरहेको छ भने संस्थापन पक्षले यसलाई स्वभाविक परिणामको रुपमा लिएको छ ।

आफ्नै गृहजिल्लाका धेरै स्थानीय तहहरु अरु पार्टीको पक्कडमा गएपछि एमाले बरिष्ठ नेता नेपालले आफ्नो अस्तित्वनै हराउने होकि भन्ने आशंका व्यक्त गरिरहेका छन् ।

त्यसैले पनि एमालेभित्रको माधव नेपाल पक्ष अध्यक्ष ओली पक्षधर समूहमाथि यो पटकको केन्द्रीय कमिटी बैठकमा खनिदैछ । यद्यपि, दुई नम्बर प्रदेशको विषयमा कडा आरोप–प्रत्यारोप चलेपनि समग्र मुलुकको चुनावी परिणाम एमालेकै पक्षमा भएकोले उसले सोही आधारमा आगामी मंसिरको चुनावी रणनीति तय गर्दैछ ।

यही बैठकबाट एमालेले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका उम्मेद्वारहरु तय गरेर जाँदैछ । यसका लागि सो पार्टीले आगामी मंसिरमा चुनाव जित्ने रणनीतिका साथ युवा र लोकप्रिय नेताहरुलाई उम्मेद्वार बनाउने रणनीति समेत अघि सार्दैछ ।

कांग्रेसको यस्तो छ अबको रणनीति
दुई नम्बर प्रदेशको चुनावमा कांग्रेसले पहिलो स्थान हासिल गर्ने संकेत देखिएपछि अब उसको रणनीति पहिलो र दोश्रो चरणको स्थानीय तहको आधारमा भन्दा पनि तेश्रो चरणको निर्वाचनको आधारमा तय हुने देखिदैछ । नेपाली कांग्रेसले दुई नम्बर प्रदेशको सफलताको सन्देश लिएर आगामी मंसिरको चुनावमा जाने सो पार्टी निकट नेताहरु बताउँछन् ।

त्यतिमात्र होइन कांग्रेसले मंसिरमा हुने निर्वाचनका लागि छुट्टै चुनावी रणनीति समेत तयार गर्ने नीति अघि सार्ने तयारी गरिरहेको छ । एमालेले जस्तै कांग्रेसले पनि सातवटै प्रदेशका मुख्यमन्त्रीका उम्मेद्वारहरु तय गरेर जाने तयारी गरिरहेको छ । कांग्रेसबाट सम्भावित मुख्यमन्त्रीहरुको नाम समेत बाहिर आउन थालेको छ । यद्यपि, यो विषयलाई आगामी दिनमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निश्चित गर्दैछ ।

सम्पूर्ण स्थानीय तहको निर्वाचनमा आएको मतपरिणाम र आगामी मंसिरको चुनावका लागि रणनीति तय गर्न उक्त पार्टीको केन्द्रीय समितिको बैठकमा पनि छिट्टै बस्दैछ । उक्त बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा र मंसिरमा हुने चुनावको रणनीति निर्माण गर्ने श्रोतले बताएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा माओवादीसँग गरेको चुनावी तालमेल सफल वा असफल के भयो ? यो विषयमा समेत गम्भीर समीक्षा गर्ने तयारी गरिरहको छ । कांग्रेसका अधिकांश नेता–कार्यकर्ताहरुले अघिल्ला दुई निर्वाचनमा भएको यो एलाइन्सलाई मन पराएका छैनन् । त्यसैले कांग्रेसले अब तय गर्ने चुनावी रणनीति दुई नम्बर प्रदेशको सफलताको जगमा हुनेछ, जहाँ उसले एक्लै चुनाव लडेको छ र सफलता प्राप्त गरेको छ ।

माओवादी केन्द्रको तयारी
पहिलो र दोश्रो चरणको स्थानीय निकायको चुनावमा कांग्रेससँग चुनावी तालमेल गरेर आफ्नो साख जोगाएको माओवादी केन्द्रले दुई नम्बर प्रदेशमा भने राम्रो मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामलाई हेर्दा एमालेलाई समेत उसले जित्ने संकेत दिएको छ ।

माओवादीका लागि दुई नम्बर प्रदेशमा कांग्रेससँग तालमेल नगरेपनि जित्ने आधार कसरी तय भएको थियो भने त्यहाँ एमालेको कमजोर राजनीतिक पृष्ठभूमि र सत्तारुढ दलहरुसँग राजपा र मधेसवादी दलहरुको अप्रत्यक्ष तालमेलले उसले बाजी मार्न सफल भयो । त्यसैले माओवादीले स्थानीय निकायको समग्र चुनावमा जित हासिल गरेको निश्कर्ष निकालेको छ ।

आफ्नो अस्तित्वनै जोगाउन धौ–धौ परेको माओवादी मुलुकको तेश्रो शक्तिको रुपमा उदाएको छ । माओवादीको आगामी केन्द्रीय कमिटी बैठकले यही निश्कर्ष निकालेर थप प्रगति गर्ने उद्घोषका साथ आगामी मंसिरको चुनावमा जाँदैछ । उसले आगामी मंसिरको चुनावमार्फत स्थानीय तहमा आएको मतपरिणामलाई दोब्बर बनाउने रणनीति तय गर्दैछ ।

राजपा र मधेसवादी दलहरुको अबको योजना के ?
पहिलो र दोश्रो चरणको निर्वाचनमा देशव्यापी धक्का बेहोरेका राजपा र मधेसवादी दलहरुले दुई नम्बर प्रदेशमा आफ्नो अस्तिव बचाएका छन् । दुई नम्बर प्रदेशमा राजपा दोश्रो शक्तिको रुपमा उदाउने देखिएको छ भने संघीय समाजवादी फोरमले पनि राम्रो मत प्राप्त गरेको छ ।

फोरम लोकतान्त्रिक केही कमजोर देखिएपनि अन्य मधेसवादी दलहरुलाई दुई नम्बर प्रदेशले अघि ल्याइदिएको छ । यद्यपि, राजपाले पहिलो र दोश्रो चरणको निर्वाचनमा भाग लिएको थिएन । सो पार्टीभित्रकै केही नेताहरुको अगुवाईमा केही स्थानीय तहमा उम्मेद्वारहरु भने उठाइएको थियो ।

मधेसवादी दलहरुले पनि अबको निर्वाचनमा दुई नम्बर प्रदेशमा प्राप्त शक्तिकै आधारमा आगामी मंसिरको चुनावी रणनीति तय गर्ने देखिन्छ । उनीहरुका लागि आफ्नो शक्ति सञ्चय गर्ने राजनीतिक आधारईलाका दुई नम्बर प्रदेश भएको छ । आगामी मंसिरको चुनावमा पनि उनीहरुले सोही इलाकालाई उपयोग गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निश्चित देखिएको छ ।