शिक्षा

लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीको योगदान महत्वपूर्ण – उपप्रम श्रेष्ठ

पोखरा । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ, कास्की शाखाद्वारा शनिबार  आयोजित कार्यक्रममा ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’बाट पोखराका पत्रकार पुण्य पौडेललाई सम्मान गर्दै उनले पत्रकारहरुकै योगदानबाट मुलुकमा हालसम्मका उपलब्धि प्राप्त भएको बताए ।

सञ्चार क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै उनले पत्रकारका हकहित तथा पेशागत सुरक्षाका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने उल्लेख गरे ।

गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै मन्त्री श्रेष्ठले रोजगारमूलक एवम् व्यावसायिक शिक्षाको माध्यमबाट स्वदेशमै युवाहरुलाई रोजगारी दिन सकिने बताए ।

उक्त अवसरमा पत्रकार पुण्य पौडेललाई रु ३३ हजार ३३३ नगदसहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । सो पुरस्कार सन्चालनका लागि स्वर्गीय दयाशंकर पालिखेका परिवारजनले रु पाँच लाखको अक्षय कोष स्थापना गरिदिएका छन् ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पालिखे परिवारले पत्रकारिता पुरस्कार स्थापना गरेर प्रजातन्त्रका सेनानी दयाशंकरले सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई जिवन्त राखेको बताए ।