समाचार

धुलोमुक्त काठमाडौँ’ अभियानमा माहानगरपालिका तात्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने कामलाई प्राथमिकतामा राखेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौँका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए ।

“काठमाडौँ उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ ।