स्वास्थ्य

निःशुल्क स्वास्थ्य तथा आँखा जाँच, ३७० बिरामी लाभान्वित

पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा कुश्मा नगरपालिका वडा नं १२ ठूलीपोखरी, पर्वतस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरबाट ३७० जना बिरामी लाभान्वित भएका छन् ।

हिमालय आँखा अस्पताल पोखरा र प्राथमिक स्वास्थ्य केन्द्र ठूलीपोखरी, पर्वतको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १९० जना आँखाका र बाँकी १८० जना बिरामीको अन्य स्वास्थ्य जाँच गरिएको हो ।

शिविरमा आँखा जाँच गर्ने बिरामीको चाप धेरै रहेको र जसमध्ये चार जनामा मोतियाबिन्दु देखिएको हुँदा हिमालय आँखा अस्पताल पोखरामा पठाइएको दृष्टि विशेषज्ञ अनिल चौधरीले जानकारी दिए ।

त्यस्तै अन्य सामान्य स्वास्थ्य जाँचतर्फ ग्यास्टिक, प्रेसर, बाथरोग, निमोनिया, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने लगायतका समस्या रहेको पाइएको डा विवेक भण्डारीले बताए ।

स्वास्थ्य जाँच गराउन आएका ८७ वर्षीय डाँडाघर ठूलीपोखरीका दीलनाथ सुवेदीले घरगाउँमा शिविर आएर आफूजस्ता धेरै सर्वसाधारण लाभान्वित भएको बताए ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं–१२ का अध्यक्ष राजेन्द्र पौडेल, लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट सञ्चार संयोजक टंकराज अधिकारीलगायतले मानवीय सेवाको लक्ष्यका साथ लायन्सका माध्यमबाट विकट गाउँका बस्तीमा सञ्चालन हुँदै आएका शिविरले सर्वसाधारणलाई ठूलो राहत पुगेको धारणा राखे ।

‘फ्रेन्डस फन रिलोडेड’को रक्तदानमा २२ युनिट रगत संकलन

यसैगरी फेसबुक गु्रप ‘फ्रेन्डस फन रिलोडेड’द्वारा शनिबार आयोजित रक्तदानमा २२ युनिट रगत संकलन भएको छ ।

‘नेपाली मन, नेपाली पन’ भन्ने नारासहित सामाजिक सञ्जालमा सक्रिय रहँदै आएको फेसबुक ग्रुप फ्रेन्डस फन रिलोडेडले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान आयोजना गरेको हो ।

कार्यक्रममा ओरेन्ज मार्केटका सञ्चालक एवं रक्तदान कार्यक्रमका सभापति विनोद गुरुङले कुनै व्यक्तिलाई नयाँ जीवन दिन रक्तदान कार्यक्रमबाट संकलित रगत महत्वपूर्ण बन्ने बताउँदै ‘रक्तदान जीवन दान’ भएको बताउनुभयो ।

फ्रेन्डस फन रिलोडेडका सदस्य शर्विन्द्र रेग्मीले संस्थाका तर्फबाट विगतमा वृद्धाश्रमलगायत अन्य सामाजिक संस्थालाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे ।