पु.समाचार

जनप्रतिनिधिलाई पत्रकारद्वारा विजयी विशाल भट्टराईलाइ…….

खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई खोटाङका पत्रकारले जिल्लाको सादा नक्सा प्रदान गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकारले मंगलबार प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नं १ (क) मा विजयी राजन राई र प्रदेशसभा क्षेत्र नं २ (ख) मा विजयी रामकुमार राई (पासाङ)लाई जिल्लाको सादा नक्सा प्रदान गरेका हुन् ।

विकासका रङ भर्दै जिल्लाको समृद्धिमा काम गर्न दबाबस्वरुप प्रतिनिधिसभा सदस्य भटृराईलाई प्रेस सेन्टरका अध्यक्ष सूर्य तामाङ, प्रदेशसभा (क) का सदस्य राजनलाई प्रेस चौतारीका केन्द्रीय सदस्य हरिवोल आचार्य र प्रदेशसभा (ख) का रामकुमारलाई प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामनापत्र प्रदान गरे ।

खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको रङ कलात्मक तरिकाले भर्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष तामाङले बताए ।

जनप्रतिनिधिका रुपमा जिल्लाबाट निर्वाचित भएकामा बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै जिल्लाको समग्र विकासका लागि ध्यान केन्द्रित गराउन सादा नक्सा प्रदान गरिएको चौतारीका केन्द्रीय सदस्य आचार्यले बताए ।

बधाई पत्रमा “खोटाङ जिल्लाको भाग्य र भविष्य निर्माण गर्दै विकास र समृद्धिको रङ भर्न यहाँलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको छ,” भनिएको छ ।

सादा नक्सा अंकित बधाई तथा शुभकामनापत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको समृद्धिको रङ भर्नका लागि प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई जिल्लाका अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंस्थाले पनि बधाई तथा शुभकामना दिइरहेका छन् ।