खेलकुद

आर्मीद्वारा कबड्डी प्रतियोगिताको उपाधि रक्षा

काठमाडौं। नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत २२ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । पुरुष/महिला दुवैमा च्याम्पियन बनेको आर्मी दुवै समूहको डिफेन्डिङ च्याम्पियन हो ।
बर्दियामा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले पश्चिमाञ्चललाई ३९–२५ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ३९–२२ ले हरायो ।
पुरुषमा नागेश्वर थारु र महिलामा मेणुका राजवंशी उत्कृष्ट खेलाडी घोषित भए । आर्मीका दुवैले त्यसवापत जनही १५ हजार नगद पुरस्कार हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।