खेलकुद

राखेप च्याम्पियनसिप अन्तर्गत आर्मीको दोहोरो जित

काठमाण्डौ । नेपाल आर्मीले राखेप च्याम्पियनसिप अन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो दिन सोमबार दोहोरो जित हात पारेको छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा भइरहेको प्रतियोगिताको पुरुषमा डिफेन्डिङ च्याम्पियन आर्मीले पूर्वाञ्चललाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आर्मीका देवसिंह धामी एक्लैले ४ गोल गरे भने राम शाहले ३ र सत्यनारायण चौधरीले १ गोल गरे । पुरुषकै अर्को खेलमा सुदूपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो ।  सुरेशप्रसाद जोशीले निर्णायक गोल गरे ।

महिलामा आर्मीले डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चललाई १–० ले स्तब्ध बनायो । सरिता मेचेले गोल गरिन् । अर्को प्रतिस्पर्धामा सीमा खड्काको गोल मद्दतमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले पन्छायो । प्रतियोगिताअन्तर्गत मंगलबार पनि चारै खेल हुनेछ ।

प्रतियोगिताको हेटौंडा उप महानगरपालिकाकी उप मेयर मिना लामाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । पुरुषमा पाँच विकास क्षेत्र र नेपाल आर्मीसहित ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको राउन्ड रोविन लिगमा मध्यपश्चिमाञ्चलबाहेक ४ विकास क्षेत्र र आर्मी गरी ५ टिम सहभागी छन् । फाइनल माघ ६ गते हुनेछ ।