साहित्य

सौरभको पाँचौ लघुकथाकृति ‘स्वप्निस्तान’को परिचर्चा कार्यक्रम सम्पन्न

काठमाण्डौ । लघुकथाकार सुमन सौरभको ‘स्वप्निस्तान’कृतिको समिक्षा गरिएको छ ।

बिहीबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच ‘स्वप्निस्तान’ लघुकथाको विमोचन भएको थियो । मोहनबहादुर कायस्थको लघुकथा संग्रहको विमोचन भएको थियोे । त्यसै गरी महेश प्रसाईको ‘अतिरिक्त स्वरहरू’ नामक लघुकथा संग्रह भर्खरै लेलेमा विमोचन भएको खबर छ । प्रसाईले रेच्की भनेर लेख्दै आए पनि यतिबेला लघुकथा नै भनेर लेख्न थाल्नुले लघुकथाको लोकप्रियता दिनानुदिन बढ्दै गएको बुझिन्छ ।

कृतिको परिचर्चा गर्दै कसले के भने ?

लघुकथाकार सुमन सौरभः

विज्ञानले सपनालाई के भन्छ मलाई मतलव छैन । मैले सार्वभौम सपनालाई विपनामा जोड्दै प्रबुद्ध वर्गलाई केन्द्रित गरेर यी लघुकथाहरू लेखेको छु । पटकथाको शैली प्रयोग गरेर संस्पेन्सनको खोजी गर्दै यी कथाहरू लेख्न मलाई तीन वर्ष लागेको छ ।

गोपाल अश्कः

एउटै विधामा केन्द्रित सौरभका लघुकथामा दुरूहता देखिए पनि उनका लघुकथामा लघुकथामा हुनु पर्ने सबै तत्वहरू समावेश छ । यो निकै संग्रहनीय कृति हो । राम्रा पनि छन् । धेरै डराउने खाले कथाहरू पनि छन् ।

समालोचक डा . लक्ष्मणप्रसाद गौतमः

यो कृति सपना दर्शनको प्रयोगशाला हो । मस्तिष्कले पढिने उनका कथाहरू सामान्य पाठकले बुझ्दैनन् । भन्ने एउटा , देखाउने एउटा भएको उनको कथामा आत्म व्यङ्ग्य , स्वैरकल्पनाको प्रयोग पाइन्छ ।

लघुकथा लेख्नका लागि मात्रै जन्मेको हुन् सौरभ । मृत्यु संग्रह पछिको सपनाहरूको कथा स्वप्निस्तान झन् गजव छ । लेखकले आफ्नो सिर्जनासित आफैं प्रतिस्पर्धा गर्न सक्नुपर्छ । यही प्रतिस्पर्धामा लेखक विजेता बनेका छन् ।

प्रमुख अतिथि प्राडा राजेन्द्र सुवेदीः

कामचलाउ बढी र कम साधना हुँदै गरेको स्थितिमा लेखकले एउटा चीज भित्र धेरै चीज देखाएका छन् । बुद्ध दर्शनबाट प्रभावित जटिल कथाकार सौरभका लघुकथाहरू बेजोड छ । लघुकथा सानो भएको र सानो भएकैले यसलाई सुन्दर बनाउन झन् गारो हुन्छ । तर , सौरभले गारोलाई विवेक र साधनाले राम्रोसँग छिचोलेका छन् ।

प्रकाशक पुण्यप्रसाद प्रसार्ईः

‘स्वप्निस्तान’ जस्तो गहिकलो कृति प्रकाशनका लागि पुलको काम गर्नु हुने तुलसीहरि कोइरालाप्रति म श्रद्धाभाव व्यक्त गर्दछु । अहिले भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनीमा यो कृति अत्यधिक रूपमा विक्री हुनुले अब नेपाली साहित्यमा लघुकथाको स्थिति मजबुत भएको आंकलन गर्न सकिन्छ । पैरवी प्रकाशनको तर्फबाट पनि कथाकार सौरभलाई हार्दिक बधाई ।

कार्यक्रम लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अध्यक्षतामा सम्पन्न भएको थियोे । अध्यक्ष रोदनले लघुकथा विधा स्थापित भइसकेको भन्दै एउटै विषयमा फरकफरक लघुकथा लेखेर मृत्यु संग्रहपछि सपना केन्द्रित ‘स्वप्निस्तान’ लेखेकोमा कथाकारलाई बधाई दिदै कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रममा ‘संसाक’ मासिकका सम्पादक र प्रकाशक उमेश पाण्डे,किशोर पहाडी , छविरमण सिलवाल , जय छाङ्छा, देवा अधिकारी ,ध्रुव मधिकर्मी, पवन आलोक ,डा . पुष्करराज भट्ट , नारायण तिवारी ,भाउपन्थी , दायित्वका सम्पादक रामप्रसाद पन्त, विमल भौकाजी, सिन्धु गौतम, प्राज्ञ मातृका पोखरेल, लघुकथा समाज खोटाङका अध्यक्ष श्रीराम राईलगायतको उपस्थिति रहेको थियोे ।