स्वास्थ्य

एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

चितवन । राष्ट्रिय एचआइभी/एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।

घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो ।

महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको गुणस्तरदेखि उनीहरुमाथि गरिने व्यवहारसम्मलाई समेटेर घोषणापत्र तयार गरिएको बताए ।
घोषणापत्रमा संक्रमितले प्रयोग गरिररहेको औषधि गुणस्तरीय नभएको र त्यसबाट विभिन्न समस्या उत्पन्न भएको जनाइएको छ । औषधि सेवनबाट कलेजोमा असर देखिएको, महिलाको पाठेघरमा क्यान्सर देखापरेको, गाला सुक्ने र पेट फुल्ने समस्या देखिएको, मधुमेहको समस्या देखिएको जनाइएको छ ।

राज्यले गुणस्तरीय महँगो औषधि खरिद नगरेकाले समस्या भएको जनाइएको छ । घोषणापत्रमा ६५ प्रतिशतभन्दा बढी संक्रमितलाई क्षयरोग हुने गरेको भन्दै उनीहरुलाई अन्य क्षयरोगीका रुपमा मात्र उपचार गरेको र विशेष किसिमको उपचार हुन नसकेको उल्लेख छ । संक्रमितमा हेपाटाइटिस सीको उच्च जोखिम रहेको उल्लेख गर्दै संक्रमितमा हेपाटाइटिस सी देखिएपछि मृत्युदर उच्च हुने गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । हेपाटाइटिस सी भएकालाई गुणस्तरीय उपचार गर्नुपर्ने माग गरिएको छ ।

एक ठाउँबाट अर्को ठाउँमा जाने संक्रमितको सङ्ख्या बढी हुने भन्दै जहाँ गयो त्यहाँ औषधि नपाउने कारण मृत्युदर बढेको घोषणपत्रमा उल्लेख छ । औषधि सेवनसँगै केही निको भएपछि संक्रमित मुख्य रुपमा भारततर्फ रोजगारीका लागि जाने भए पनि त्यहाँ औषधि नपाउने समस्या घोषणापत्रमा उल्लेख छ । तर भारतबाट नेपाल आएका संक्रमितलाई नेपालमा भने औषधि दिने व्यवस्था रहेको छ ।

संक्रमितप्रति मानवीय व्यवहार नभएको भन्दै मानवीय व्यवहारका लागि आग्रह गरिएको छ । अस्पतालमा उपचार हुँदा, स्कुलमा शिक्षा लिँदा, कार्यक्षेत्रमा काम गर्दा समेत फरक व्यवहार भएको घोषणापत्रमा जनाइएको छ । जन्मदैमा एचआइभी संक्रमित भएर जन्मिएका बालबालिकाको हेरचाहमा सहयोग नभएको उल्लेख छ । संक्रमितका समस्यालाई अर्थपूर्ण रुपमा लिएर राज्य र दातृ निकायले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

अध्यक्ष सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताए । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् ।