समाचार

कालीप्रसाद हजुरबाका नाममा पोखरेलद्वारा अक्षयकोष स्थापना

खोटाङ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले आफ्ना हजुरबुबा कालीप्रसाद पोखरेलको स्मृतिमा ‘मुखिया कालीप्रसाद स्मृति अक्षयकोष’ स्थापना गरेका छन् ।

आयुक्त पोखरेलले आफ्नो जन्मथलो खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित सिम्पानी उच्च माविमा रु एक लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन् ।

अक्षयकोषकोे रकमबाट आएको ब्याजले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई विद्यालयको वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताए । सिम्पानीमा रहेर सामाजिक क्षेत्रमा ठूलो योगदान पु¥याएको भन्दै पोखरेलले स्व मुखिया कालीप्रसादका नाममा अक्षयकोषको स्थापना गरिदिएको विद्यालयले जनाएको छ ।

सिम्पानीमा जन्मिएका आयुक्त पोखरेल सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रमको सिलसिलामा खोटाङ आएका हुन् । आयुक्त पोखरेल नेतृत्वको टोली सदरमुकाम दिक्तेल र खोटाङबजारमा कार्यक्रम सम्पन्न गरेर मङ्गलबार राजधानी काठमाडौँ फर्केको छ ।