साहित्य

अब साहित्यकारको पनि परिचयपत्र, वितरण अन्तिम चरणमा

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताएका हुन् ।

अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताए ।

प्रतिष्ठानले “विशिष्ट साहित्यकार परिचयपत्र” र “लेखन साहित्यकार परिचयपत्र” गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो ।

विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् भने लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा काम गरेको हुनुपर्ने छ ।