पु.समाचार

अर्थमन्त्री कार्कीद्वारा व्यक्तित्वहरु सम्मानित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार, रचनाकार, शिक्षक, चिकित्सक र कृषि वैज्ञानिकलाई शनिबार सम्मान गरिएको छ ।

‘हाम्रो सञ्जाल’ नामक संस्थाले साहित्यार छविनाथ रिजाल, रचनाकार सागर तिम्सिना, कृषि वैज्ञानिक चितरन्जन यादव, चिकित्सक सोमतराज बस्नेत र अधिकारकर्मी चुन्नी खातुन लगायतलाई सम्मान गरेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका थिए। सम्मानितहरुलाई कदरपत्र, दोसल्ला, फुलमाला र अबिरले सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष सितोष पोखरेलले जानकारी दिए ।

विपन्न तथा गरिब परिवारलाई न्यानो लुगा वितरण

सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका ५० गरिब तथा विपन्न परिवारलाई शनिबार एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ ।

मारवाडी युवा मञ्च तथा मारवाडी महिला मञ्चको आयोजनामा बबियाका ५० घरपरिवारलाई न्यानो लुगा तथा कम्बल वितरण गरिएको आयोजक संस्थाका सौरव अटलले जानकारी दिए । उक्त वडामा रहेका गरिब, विपन्न, दलित, एकल महिला, अपांग, वृद्धवृद्धा लगायतलाई न्यानो कपडा तथा कम्बल वितरण गरिएको स्थानीय समाजसेवी भगिरथ खत्वेले जानकारी दिए ।

केही दिनयता देखि सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा बढेको जाडोबाट जोगिनका लागि उनीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा पाएपछि उनीहरु खुशी भएका छन् ।