पु.समाचार

धर्मगुरु हत्या प्रयास गर्ने दोषीलाई कडा कारवाही गर्न माग

काठमाडौँ । विभिन्न हिन्दूवादी संघसंस्थाले आचार्य श्रीनिवासमाथि शनिबार विराटनगरमा भएको गोली प्रहारको घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

महन्थ श्रीवेङ्कटेश मन्दिर गौशलाका स्वामी पद्यधराचार्यको अध्यक्षमा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न गुरु तथा हिन्दूवादी संघसंस्थाका प्रतिनिधिले देशमा धार्मिक युद्ध गराउन सुनियोजित रुपमा आतंककारीले गुरुमाथि आक्रमण गरेको बताएका छन् । उनीहरुले उक्त घटनाको निन्दा गर्दै त्यसबारेमा सरकारले गम्भीर भएर छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

महन्थ श्रीवेङ्कटेशले उक्त घटनाको निन्दा गर्दै विभिन्न स्वदेशी तथा विदेशी शक्तिहरुले हाम्रो देशमा सदियौँदेखि मिलेर बसेका समाजलाई धर्म, भाषा, संस्कृतिका नाममा द्वन्द्व गराउन खोजेकामा चिन्ता व्यक्त गरे ।

सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले गुरुमाथिको आक्रमण इतिहासमै नभएको क्रुर धार्मिक आतंकको शुरुवात भएको बताउँदै धर्मगुरुको हत्या गर्ने उद्देश्यले भएको गोली प्रहारमा संलग्न दोषीलाई कारवाहीको माग गरे ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले भनिन्, “धर्मगुरुमाथिको आक्रमण हाम्रो लागिमात्रै चुनौती होइन, सरकारका लागि पनि उत्तिकै चुनौती हो, जब धर्मनिरपेक्षता घोषणा गरियो त्यसपछि मुलुकमा गुण्डाहरुको आतंक शुरु भयो ।”

कार्यक्रममा डा रामचन्द्र अधिकारी, किशोरी महतोलगायतले हिन्दूवादीलाई कमजोर बनाउन सो घटना घटाइएकामा दुःख व्यक्त गर्दै दोषीलाई अविलम्ब कारवाही गर्नुपर्नेमा जोड दिए ।

अज्ञात समूहको गोली लागेर घाइते भएका श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

विराटगरको जतुवामा आजदेखि शुरु हुने श्रीमद्भागवत सप्ताहमा सहभागी हुन आउनुभएका गुरुमाथि शनिबार बेलुकी कार्यक्रमस्थलमा अज्ञात समूहले गोली चलाएको थियो ।