अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति लुलाको जेलमा पहिलो दिन

ब्राजिल । ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताएका छन् ।

ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहेका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताएका हुन् ।

उनको जेलजीवनको पहिलो दिनलाई विश्वका एक लोकप्रिय नेताको राजनीतिक अवसानको दिनको रुपमा हेरिएको छ ।

ब्राजिलका पूर्वराष्ट्रपतिमध्ये भ्रष्टाचारको अभियोगमा जेल सजाय पाउने उनी नै पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

उनलाई संघीय प्रहरी मुख्यालय कुरितिबामा रहेको १६० वर्ग फुट अर्थात् (१५ वर्गमिटर) क्षेत्रफलमा राखिएको छ । “त्यही नै उनको अवको नयाँ घर भएको छ,” अधिकारीले भनेका छन् ।

ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समयसीमाभित्र उनले आत्मसमर्पण नगर्नु भएपछि प्रहरीले उनलाई हिजो नियन्त्रणमा लिएको थियो ।

आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर आपूm विरुद्ध भ्रष्टाचारको झुटा मुद्दा लगाइएको उनले बताउदै आएका छन् ।

ब्राजिलको वर्कर्स पार्टी (पिटी)ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरी मै गरेको थियो ।

उनलाई भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दा लगाइएको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ ।