पु.समाचार

सभापति देउवाद्वारा राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गरका छन् ।

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उनी सो गाउँपालिका पुगेका हुन् ।

उनलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

त्यस अवसरमा सभापति देउवाले राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न भएकाले नमूना गाउँपालिकाका रुपमा विकास गर्नुपर्ने सल्लाह दिए ।

उनले भने – “स्थानीय तह भनेकै सरकार हो । जनप्रतिनिधिले नागरिकलाई त्यसको अनुभूति गराउन सक्नुपर्छ ।”

सभापति देउवाको टोलीमा काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महत, किशोरसिंह राठौंर लगायतका छन् ।