समाचार

दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…..

शुरबहादुर सिंह/जुम्ला । जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।

बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ ।

तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम गाउँका बासिन्दा निकै चपेटामा परे । तिनै पीडित गाउँ मध्यको तातोपानी–४ हाँकु जुम्लाको गिडीखोला पनि एक हो ।

आज त्यही गाउँमा २०४९ सालमा स्थापना भई जीर्ण अवस्थामा रहेको गणेश आधारभूत विद्यालय गिडिचौरको दुईकोठे भवन २४ नं कर्णाली वाहिनीअन्तर्गत भगवती दल गण जुम्लामा कार्यरत नेपाली सेनाले आफ्नै श्रमशक्तिमा बनाई दिएपछि त्यस समुदायका स्थानीय नागरिक भने दंग परेका छन् ।

“द्वन्द्वपछि गाउँमा पहिलो पटक हरियो सेता पाटा गरेको पोशाक लगाएको सेना आउँदा केही गर्ने हो कि भन्ने डर लागेको थियो, तर त्यो त शिक्षाको ज्योति खोल्ने विद्यालय बनाई दिन पो आएको रहेछ,” स्थानीयवासी कमला जैसीले भने ।

माघ पहिलो हप्ताको अन्तिम दिनबाट १८ जना नेपाली सेनाले गिडिचौर विद्यालयमै टुकुडी स्थापना गरी ६० दिन बसेर सो विद्यालयको दुईकोठे भवन निर्माण गरेको थियो ।

भगवती दल गणमा कार्यरत नेपाली सेनाको श्रमशक्ति र नगद रु। दुई लाख ५० हजार तथा तातोपानी गाउँपालिकाको रु तीन लाखमा भवन निर्माण भएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष धिरज जैसीले जानकारी दिए ।

सो विद्यालयको नवनिर्मित भवन यही चैत २५ गते तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र निमित्त गणपति पवन थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा अध्यक्ष न्यौपानेले आफ्नै श्रमशक्ति र केही नगद दिएर ग्रामीण शिक्षा विकासमा सहयोग पु¥याउने नेपाली सेनाको उच्च प्रशंसा गरे ।

“सेनाको हातले निर्माण गर्दा यो विद्यालय करीब रु आठ लाखमा सम्पन्न भएको छ तर यही काम उपभोक्तामा जाँदा रु १६ लाखभन्दा बढी नाघ्थ्यो होला,” उनले भने।

सेना यही देशको बर्दी लगाएको नागरिक हो भन्दै उनले स्थानीय समुदायलाई उनीहरुको कामबाट पाठ सिकेर सभ्य समाज निर्माणमा लाग्न अनुरोध गरे ।

भगवती दल गण जुम्लाका निमित्त गणपति थापाले समाज विकासको पहिलो आवश्यकता शिक्षा भएकाले दुर्गमको विद्यालयलाई प्राथमिकतामा राखेर भवन निर्माण गरेको बताए ।

उनले भने, “विद्यालय निर्माण मात्र नभई स्थानीय नागरिक र सेनाबीच नजिकको सम्बन्ध निर्माण गर्नु छ, विगतको छाप मेटाउनु छ र सेना हाम्रै भाई छोरा हो भन्ने बुझाउनु छ ।”

निर्मित उक्त भवन भूकम्प प्रतिरोधात्मक भएको जनाएको छ ।

मुलुकको नेतृत्व गर्ने जनशक्ति तयार गर्ने शिक्षक महान् व्यक्ति भएको टिप्पणी गर्दै निमित्त गणपति थापाले पछिल्लो समयमा समाजमा देखिएका केही शैक्षिक विकृति शल्यक्रिया शिक्षक स्वयम्ले गर्नुपर्ने औँल्याए ।

जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीले नेपाली सेनाले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई समुदायका नागरिकले आफ्नो सम्पत्तिका रुपमा संरक्षणका साथै संस्थागत विकास गर्न सुझाव दिए ।

उनले बजेटको भरमा मात्र काम हुन्छ भन्ने समाजका भ्रष्ट प्रवृत्तिका मान्छेलाई सेनाको यो उदाहरणीय कामले सानो बजेटमा पनि इमान्दार र लगनशील मान्छेको समूहबाट ठूलो काम हुँदो रहेछ भन्ने सन्देश प्राप्त भएको बताए ।

शिरमा प्रसिद्ध पर्यटकीय ताल गिडिदहको फेदमा रहेको गिडिखोला गाउँमा १५० घरधुरी रहेका छन् भने उक्त विद्यालयमा ८७ जना बालबालिका अध्ययनरत् छन् ।