अन्तर्राष्ट्रिय

पुर्वराष्ट्रपति मुगाबे सरकारी आवासबाट बहिर्गमित

हरारे । जिम्बाबेको पुर्व राष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपति पदबाट राजीनामा दिएको झण्डै पाँच महिनापछि सरकारी निवासबाट बाहिरिएका छन् ।
हरारेमा रहेको सरकारी निवासबाट उनी बाहिरिएको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जर्ज चाराम्बाले उनी राष्ट्रपति नभएपनि उनी अहिले सम्म राष्ट्रपति कार्यालयमै बस्दै आएकोमा उक्त सरकारी आवास छोडेको बताए ।

“हुन त उहाँ यसअघि गत नोभेम्बरमा नै अनौपचारिक रूपमा स्टेट हाउसमा सरिसक्नुभएको थियो, तर उनका पुस्तक, कम्युटर लगायत उहाँसँग सम्वन्धित निजी सामग्रीहरू अहिले मात्रै सारिएको हो,” चाराम्बाले एएफपीसँग भने ।
मुगाबे र उनको परिवार नगर परिसरमै रहेको ‘ब्लु रुफ’मा बस्दै आएका थिए । जुन भवन उनले आफु राष्ट्रपति भएकै बेला बनाएका हुन्।
“हामीले उहाँलाई पछ्याइरहेका छौँ भन्ने अर्थ नलागोस् भन्ने हाम्रो चाहना छ,” चाराम्बाले भने । “९४ बर्षीय मुगाबे हालसालै आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर हुनुहुन्थ्यो ।”
बेलायतबाट जिम्बाबेलाई स्वतन्त्र गरेदेखि ३८ बर्षसम्म उनले शासन गरे । उनलाई केही महिना पहिलेमात्र जबरजस्त आकस्मिक रूपले पदत्याग गर्न बाध्य गरिएको थियो ।
आफ्नै उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न उनलाई नै नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो ।

उनले सन् २०१७ को २१ नोभेम्बरमा सैनिकको नियन्त्रणमा रहेकै अवस्थामा राष्ट्रपति पदबाट राजीनामा दिएका हुन् । उनलाई सैनिक नियन्त्रणमा लिनुका साथै संसदमा महाअभियोग प्रस्ताव पनि दर्ता गरिएको थियो ।

महाअभियोगको प्रस्तावमाथि छलफल हुन थालेपछि सैनिक नियन्त्रणमा रहेको दुई दिनपछि उनले राजीनामा दिएको हो । उनले हटाउन लागेका उपराष्ट्रपति सैनिकमाझ लोकप्रिय भएकाले उनलाई सैनिकले साथ दिएर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिइदिएको थियो ।