२३ जेठ, काठमाडौँ । पश्चिमी अस्ट्रेलियाको तटमा शनिबार सार्कको आक्रमणबाट एक व्यक्ति (गोताखोर) को मृत्यु भएको प्रहरीले बताएको छ । एम्बुलेन्स सेवा र पश्चिमी अस्ट्रेलिया सरकारले पर्थको दक्षिणपूर्वमा रहेको माइकलमास टापुमा ४.५ मिटर (१५ फिट) को सार्कले तीसको दशकमा ती व्यक्तिलाई आक्रमण गरेको बताएको छ । समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । घटना बिहान ११ः२५ बजे भएको बताइएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिले माछा मारिरहेका समय ती व्यक्तिलाई घातक माछा (सार्क)ले आक्रमण गरेको थियो । उद्धारकर्मीले सार्कको आक्रमणबाट घाइते भएका ती व्यक्तिलाई वेहोस अवस्थामा किनारामा ल्याएको तर स्वास्थ्यकर्मीले उनको उपचार गर्ने प्रयास गरेपनि सफल नभएको प्रहरीले बताएको छ । “दुःखको कुरा, सार्कको आक्रमणबाट घाइते व्यक्तिलाई पुनः होसमा ल्याउन सकेनन्,” स्थानीय प्रत्यक्षदर्शीले भने । राज्यको प्राथमिक उद्योग र क्षेत्रीय विकास विभागले मानिसहरूलाई यस क्षेत्रमा ‘थप सावधानी’ अपनाउन आग्रह गरेको छ।
उत्तरी क्वीन्सल्यान्ड राज्यमा सार्कको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको दुई सातापछि यो आक्रमण भएको हो । पश्चिमी अस्ट्रेलियामा गत महिना पर्थ शहर नजिकैको रोटनेस्ट टापुमा एक ठूलो सार्कले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । वातावरणविद् तथा सार्क विज्ञहरूले भन्छन्, “पानीमा बढ्दो भीडभाड र बढ्दो समुद्री तापक्रमले सार्कहरूको प्रवासी ढाँचालाई परिवर्तन गरिरहेको छ, जसले उनीहरूलाई आक्रमण गर्न प्रोत्साहित गर्न योगदान पुर्याइरहेको हुन सक्छ।” –––





