अन्तर्राष्ट्रिय

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण

अंकारा । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् ।

ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएको देखिएको छ ।

शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिएका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।

उनले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताउनुभएको छ । यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका सञ्चारमध्यमहरुले जनाएका छन् ।

आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन । तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठुलो मात्रामा क्षति भएको अनुमान गरिएको छ ।

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ
यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरुले जनाएका छन् ।
विज्ञहरुका अनुसार उक्त गुटा तथा विद्रोहीहरुको कब्जामा रहेको भनिएको अर्को क्षेत्र डुमामा पनि यस्ता हतियारहरुको आक्रमण भएको अनुमान गरिएका विवरणहरु आएका छन् ।
त्यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ । साथै यसमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह हो भन्दै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेका बताएका छन् ।
यसका साथै उनले सिरियाली सरकारका साझेदारहरु राष्ट्रहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसको दोषी हुन् भनेका छन् ।
राष्ट्रपति ट्रम्पले, यस्तो क्रुर कार्यका लागि सिरियाली सरकार र उनीहरुका सहयोगीहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन् ।
सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन् ।