समाचार

एक दर्जन गाँउमा खानेपानीको हाहाकार

गौशाला । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।

अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् ।

ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए । सयौँ इनार एकैचोटि सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताए ।

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँमा पानीको हाहाकार मचेपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनु परेको लक्ष्मिनियाका शंकर महतोले बताए । पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई÷तीन पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए ।

विभिन्न सामाजिक संघसंस्था र तत्कालीन गाविसकै खर्चमै पनि धेरै पहिले ती गाउँमा जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको किसाननगरका प्रेमकुमार महतोले बताए । यसरी त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित भएका छन् सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् ।