समाचार

रक्तसञ्चार सेवाको ५२ औँ बर्ष पूरा

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ६२ हजार ४३९ यूनिट रगत संकलन गरिएको र ३ लाख ४४ हजार ९३३ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको छ । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ यूनिट रगत संकलन गरिएको थियो । नेपालमा रक्तसञ्चार सेवाको ५२ औँ स्थापनाको दिनमा आज पुल्चोकमा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो ।

रक्तवितरणको करिव एक चौथाई काठमाडौँ उपत्यकामा नै हुनेगर्दछ ।
केन्द्रीय रक्त संचार व्यवस्थापन समितिका सभापति डा। यूवराज शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेरेसोका अध्यक्ष संजीव थापाले भने, अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको स्थापना भएको छ ।

र, सेवा तथा उत्पादनको उच्च गुणस्तर कायम राख्न नेपाल रेडक्रस सोसाइटी प्रयत्नशील छ । उनले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा नेरेसोले आफ्नो कोषबाट रक्तसञ्चार सेवाको लागि वार्षिक डेडकरोड अतिरिक्त खर्च व्यहोर्नुपरेको अवस्था बताँउदै सरकारको सहयोग बढाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले विगत ५२ वर्षदेखि नेपाल रेडक्रसले रक्तसञ्चार मार्फत् जीवन जोगाउने सह्रानीय काम गरेको उल्लेख गर्दै रक्तसञ्चार सेवालाई थप व्यवस्थित वनाउन सरकारको तर्फबाट पूरा सहयोग हुने जानकारी गराए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नरोत्तम वैद्य, आइसीआरसीका प्रमेश पौडेल, आइआफसीका जुजा किम, नेरेसोका उपाध्यक्ष अजीत कुमार शर्मा, महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, व्लोदानका कार्यबाहक अध्यक्ष रमेशध्वज वस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।

काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अतिरिक्त विराटनगर, पोखरा, नेपालगंज, कैलाली र चितवन गरी ५ स्थानमा क्षेत्रीय रक्त सञ्चार सेवा संचालन भइरहेको जानकारी नेरेसोका सञ्चार अधिकृत दिव्यराज पौडेलले दिए । पौडेलले भने, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालमा रक्त सञ्चार सेवा एकाइको स्थापना गरी रक्त सञ्चार सेवा प्रदान गरिएको छ ।

सम्मान तथा पुरस्कार वितरणः
रक्तदाता उत्प्रेरणा तथा रक्तसंकलन कार्यमा सक्रिय हुने सँघसँस्थालाई सो अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नियमित साप्ताहिक रक्तसँकलन गर्ने पशुपति मारवाडी सेवासँघ, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, लायन्स क्लव अफ चावहिल तथा रेडक्रसका चावहिल उपशाखा रहेका छन् । त्यस्तै वर्षभरी धेरैपटक रक्तदान आयोजना गर्ने तथा धेरै युनिट रक्तसंकलन गर्ने ब्लड डोनर्स एसोसिएसन अफ नेपाल, स्वयंसेवी रक्तदाता समाज, फ्रेण्डस अफ आर।एच। नेगेटिभ, लायन्स क्लब अफ लालीगुराँस, दीर्घायु अस्पताल, नेपाल रेडक्रस सोासइटी महाबौद्ध उपशाखा, चाबहिल उपशाखा, गणबहाल उपशाखा, बह्मटोल उपशाखा, फ्रेण्डस क्लव अफ बलम्वु, सत्यसाइ सेवा संगठन, लायन्स क्लव, ट्रीनिटी कलेज, हेडस् नेपाल लगायत छन् ।

स्वैच्छिक र अवैतनिक रक्तदानः
रक्त संकलन स्वैच्छिक र अवैतनिक रक्तदानमा आधारित वनाइएको रेडक्रसका रक्तसञ्चार प्रमुख डा। मनिता राजकर्णिकारले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो ।
नेपालको रक्तसञ्चार सेवाको पहिलो १५ वर्ष रगतको किनबेच गर्ने पेशेवर व्यक्तिहरूबाट, मजदुरहरुबाट रगत संकलन ज्यादा हुने गर्दथ्यो । २०३९÷०४० सालदेखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिइ स्वयंसेवी रगतदाताहरूको संख्यामा वृद्धिगरी रगत संकलनलाई तीब्रता दिइएको थियो ।

त्यसपश्चात, संस्थागत रूपमा रगत दान गर्नेहरूको अभिरुचिमा वृद्धि भएको छ र अहिले विभिन्न संघ–संस्था तथा निकायहरूद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रमबाट रगत संकलन वढ्दै गइरहेको छ ।

केन्द्रीय रक्त सञ्चार केन्द्रको तथ्याँक अनुसार यस वर्ष केन्द्रीय सेवाकेन्द्रमा जम्मा ६२ हजार तीन सय रक्तसँकलन भएकोमा ५० हजार ६ सय रगत स्वयंसेवी रक्तदाताबाट सँकलन गरिएको हो । यसरी अझै १८ प्रतिशत रगत सेवा विरामीका आफन्त वा साथीबाट सोधभर्ना गर्नुपरेको अवस्था छ । तर, रक्तविवरणको तथ्याँक हेर्दा सोधभर्ना गरी वितरण गरिएको करिव १२ प्रतिशत छ ।

महिला रक्तदाता अझै कमीः
केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ६२,३५३ यूनिट रक्त संकलन गरिएको मध्ये ५२,२८५ युनिट पुरुष रक्तदाताबाट र १०,०६८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ । यो प्रतिशत ८३।८५ पुरुष र १६।१५ महिला हुन आउँदछ ।

नेगेटिभ रगत समूह ३ प्रतिशतको हाराहारीमाः
यस वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार नेपाल भरमा ३ थोप्लो १० प्रतिशत मानिसहरुको रक्तसमूह ए, वी, ओ र एबी नेगेटिभ रहेको छ । तर, उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने मानिसहरु २ थोप्लो ९ प्रतिशत छन् । सवैभन्दा दुर्लभ एवी नेगेटीभ समूह परेको छ जसको भार सुन्य थोप्ला ४२ प्रतिशत रहेको छ । यसबर्षका रक्तदातामध्ये एचआइभी पोजेटिभ हुने ६६ जना देखिएको छ । हेपेटाइटिस वी र सी देखिएका दाताहरुको सँख्या क्रमस ४६६ र ३५१ रहेको छ ।

सँघसँस्थाको सहयोग वढ्दोः
आव २०७४/०७५ मा नेपालभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,८३४ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ । जसमा, केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १२९८ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन कार्यक्रम भएको छ ।
हेमोफिलिया सोसाइटीका विरामीहरुलाई ३१६ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । थालेसेमिया सोसाइटीका बिरामीहरुलाई पनि २३०५ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ ।

रक्तसञ्चार सेवाको चुनौतिहरु वढ्दोः

आधुनिक चिकित्साको विकास सँगै रगत र रक्ततत्वको माग पनि बढिरहेको छ । यसलाई परिपूर्ति गर्न बजेट सहितको राष्ट्रिय योजनाको खाँचो देखिएको छ । त्यस्तै, मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न निश्चित मापदण्डको प्रविधि तथा उपकरणको व्यवस्था गर्न कठिनाई भईरहेको छ । सरकारी नियमित खर्च उपलव्ध भएमा माग अनुसार आपुर्ति गर्न र लागत खर्च परिपूर्तिको आधारमा सञ्चालित यस सेवाको शुल्कमा एकरुपता कायम गर्न सकिने कार्यक्रमका बक्ताहरुले बताए ।