स्वास्थ्य

क्यान्सर अस्पताल भवनको लागत १२ करोड बढ्ने

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा रु १२ करोड बढी थपिने भएको छ ।

विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य रु ६० करोड १९ लाख थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुभाष पोख्रेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार रु ७२ करोड हाराहारी खर्च आउने देखिएको छ । समय दोब्बर लाग्नु र नक्साङ्कनमा गरिएको फेरबदलले मूल्य बढन गएको हो । पोख्रेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

अस्पताल १५ महीना सञ्चालक समितिबिहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए । सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे । भवन सम्पन्न भएसँगै अस्पतालमा २५० श्यया बढ्नेछ । हाल अस्पातालमा २२५ श्यया सञ्चालनमा छ । पाँच तले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखको कक्ष छन् । त्यस्तै सभा हल, चिकित्सक छलफल कक्ष, तथ्याङ्क शाखा, रेडियो थेरापी बङ्करसमेत छन् ।