पर्यटन/संस्कृति

जनशक्ति उत्पादन गर्ने संस्थाको अभाव

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको बताए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई मानित पर्यटन विश्वविद्यालयको रुपमा विकास तथा सुदृढीकरण गर्न आयोजित अन्तक्र्रियामा उनले पर्यटन क्षेत्रका विभिन्न विधालाई शैक्षिक र व्यावहारिक ज्ञानमा आधारित भई उच्च शिक्षा तथा मध्यम शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले सरकारलाई आर्थिकरुपमा भार नपर्ने गरी सार्वजनिक–निजी साझेदारीको स्वरुपमा पर्यटन अध्ययनसम्बन्धी विश्वविद्यालयको स्थापना अहिलेको आवश्यकता हो भने ।
सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्तर्राष्ट्रिय तहको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको खाँचो औँल्याए ।

विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विज्ञ तथा पूर्व प्रशासकले मुलुकमा परिवर्तित संरचनामा सबै प्रदेशमा पर्यटनको विकास गर्न विस्तृत अध्ययन गरेर यस किसिमको विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए।

सन् १९७२ मा स्थापना भएको नाथममा अहिले स्नातक र स्नातकोत्तर तहमा होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, हस्पिटालिटी व्यवस्थापनलगायत विषयमा अध्ययन हुने गरेको नाथमका प्रिन्सिपल कृष्ण खरेलले जानकारी दिए ।